
काठमाडौँ । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन् ।
अधिकृतका रुपमा आफ्नो कार्यभारको अन्तिम दिन साहले प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले जारी गरेको कुपनका आधारमा मात्र नगरपालिकाले तेलको भुक्तानी गर्ने भन्दै सो बाहेकका व्यक्तिले जारी गरेको कुपनबाट भुक्तानी भए कारवाही गर्ने भन्दै सूचना नै जारी गरेका छन् ।
नगरपालिकामा उनीले निकालेका ८० जना कर्मचारी र मेयर वेचन दाससमेतले कार्यालय प्रवेशमा अवरोध गरेका बेला उनले यस्तो सूचना जारी गरेका हुन् ।
एकजना महिला शिक्षकलाई हाजिर गराएको निहुँमा मेयरका छोराबाट कुटाइ खाएका अधिकृत साहले कुटाइ खाएकै दिन (२८ माघमा) नगरपालिकामा करारमा रहेका कर्मचारीलाई हटाउने, कर्मचारीको ग्रेड रोक्का गर्ने, वढुवा रोक्का गर्नेसहित ८० जना कर्मचारीमाथि एकैदिन कारवाही गरेका थिए ।
यो कारवाही र मेयरसँगको विवादपछि उनी कार्यालय जान सक्ने अवस्था बनेन । कार्यालय जान नपाएपछि साहले उच्च अदालत जनकपुरमा रिट दायर गरे । अदालतले १३ फागुनसम्मका लागि उनलाई निर्वाध रुपमा कार्यालय प्रवेश गर्न दिनू भन्ने आदेश दियो ।
अदालतले कार्यालयमा अधिकृतका हैसियतमा काम गर्न दिनू भनेको अन्तिम दिन नगरपालिकाले वितरण गर्ने इन्धनको कुपनमा कडाइ गर्नेगरी निर्णय गरेका हुन् ।
अदालतले १३ फागनुमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरिदिएको छ । विदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति भइसकेको र हालका प्रमुख प्रशासकीय अधिकृत साहको सरुवा भइसकेको भन्दै रिटको औचित्य सकिएकाले खारेज हुने अदालतको आदेशमा उल्लेख छ ।