
काठमाडौँ । म्याग्दीको बेनी बजारमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
थापासहित २५ जनाविरुद्ध १ अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता भएको हो ।
बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिको पदाधिकारी हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्व जिल्ला उपसचिव थिए । थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार ४२६ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको अभियोगपत्रमा दाबी छ ।