
काठमाडौँ । सरकारले ७८ जना सहसचिवको सरुवा गरेको छ । फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सहसचिवहरु सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ३ वटा विभागका महानिर्देशक (डिजी) तानिएका छन् । डिजी तानिएपछि खाली भएका विभागका भने कसैलाई पठाइएको छैन ।
सरकारले सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेलाई सरुवा गरेको छ । उनको ठाउँमा अहिलेसम्म कसैलाई पठाइएको छैन । घिमिरेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ ।
यस्तै, पशु सेवा विभागका डिजी उमेश दाहालको पनि सरुवा भएको छ । दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पठाइएको छ । दाहालको ठाउँमा अर्काे डिजी पठाइएको छैन ।
सरुवा सुचीमा परेका अर्का डिजी राजन पौडेल हुन् । उनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा थिए । पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको छ । हालका डिजी पौडेलको सरुवा भएपनि सो विभागमा नयाँ डिजी पठाइएको छैन ।
यस्तै, सरकारले ४ वटा उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत पठाएको छ । सरकारले इटहरी उपमहानगरपालिकामा हेमराज भुसाललाई पठाएको छ भने हेटौडा उपमहानगरपालिकामा भरत गौतम प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
जीतपुरसीमरा उपमहानगरमा शान्तिराज प्रसाईँलाई पठाइएको छ । यहाँ लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयमा लफडा छ । जनकपुरधाम उपमहानगरपालिकामा भने बीरेन्द्रकुमार मिश्र ले जिम्मेवारी पाएका छन् ।
हेर्नुस्– को कहाँ पुगे ?