Odapalika - The Fourth Estate - चौथो अंग
लिजामा ओखलढुंगाका ८ स्थानीय तहः समग्रमा लिखु राम्रो, भौतिक पूर्वाधारमा चम्पादेवी

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाले स्थानीय तह सस्थागत क्षमता स्वमूल्यांक प्रणाली (लिजा)मा करिब शतप्रतिशत अंक पाएको छ । स्थानीय तहहरुले विभिन्न १० सुचकका आधारमा आफूले आफैलाई नम्बर दिने प्रणाली नै लिजा हो ।

यो प्रणालीमा ओखलढुंगा जिल्लामा लिखु गाउँपालिका पहिलो स्थानमा रहेको छ । लिखुले १०० मा ९५.५ अंक प्राप्त गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको चम्पादेवी गाउँपालिकाले ९२.७५ अंक र शिद्धिचरण नगरपालिकाले ८९.२५ अंक पाएको छ । सो जिल्लामा एउटा मात्रै नगरपालिका छ ।

लिजाका १० वटा सुचकमध्ये अधिकांश सुचकमा लिखु गाउँपालिका अगाडि देखिएको छ । लिजामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० सुचकलाई विभिन्न अंकभार दिइएर स्थानीय तहले आफ्नो मूल्यांकन आफै गर्ने प्रणाली हो । 

lisa-okhaldhunga-1740895002.jpg
यी सुचकमध्ये भौतिक पूर्वाधार सुचकमा चम्पादेवी गाउँपालिका अगाडि देखिएको छ । सो गाउँपालिकाले १२ अंक ल्याएको छ भने समग्र सुचकमा अगाडी रहेको लिखुले ११ अंक मात्रै प्राप्त गरेको छ ।

लिजामा प्राप्त गर्ने अंकले स्थानीय तहहरुबीच एक प्रकारको स्वस्थ्य प्रतिस्पर्धा हुने र सुचकका आधारमा कसले के कस्तो काम गरिरहेको छ भन्ने पनि जानकारी सार्वजनिक हुने गर्छ । ओखलढुंगामा पहिलो बनेको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की पहिलो पटक अध्यक्षमा निर्वचित भएका व्यक्ति हुन् भने दोस्रो बनेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी आफ्नो दोस्रो कार्यकालमा छन् । स्थानीय तहमा दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update