
काठमाडौँ । स्थानीय तह बित्तीय सुशासन जोखिम मूल्यांकनको ४ वर्षे इतिहासमै मधेशका स्थानीय तहहरु कमजोर देखिएका छन् ।
कमजोरमात्र होइन यो अवधिमा मधेशका कतिपय स्थानीय तहको बित्तीय अनुशासनको अवस्था अत्यन्तै दयनीय समेत देखिएको छ ।
यो अवधिमा कतिपय पालिकाले १०० पूर्णाङकमा मापन गरिने मूल्यांकनमा जम्मा २ अंकमात्र पनि पाएको भेटिएको छ ।
स्थानीय तहहरुले आर्थिक वर्ष २०७८/७९ देखि बित्तीय सुशासन जोखिम मूल्यांकन गर्न थालेका हुन् । यो भनेको स्थानीय तहको बित्तीय अवस्थाबारे आफैले मूल्यांकन गर्ने र नम्बर दिने हो ।
स्थानीय तहले दिएको नम्बरलाई सम्वन्धित जिल्ला समन्वय समितिले अन्तिम अनुगमन गरी नम्बरदिएको मिले नमिलेको मूल्यांकन गर्ने गर्छ । त्यसपछि यसको नजिता स्थानीय तहहरुले सार्वजनकि गर्नुपर्ने कार्यविधि छ ।
आर्थिक वर्ष २०८०/०८१ मा हालसम्म ५८७ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा सर्लाहीको बसबरिया गाउँपािलका सबैभन्दा पुछारमा देखिएको छ । उसले १०० पूर्णङक मध्ये जम्मा ५.५ अंक मात्र ल्याएको छ ।
बित्तीय सुशासन जोखिम मूल्यांकनमा योजना बजेट तथा कार्यक्रम कार्यान्वयन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन र राजश्व व्यवस्थापन शीर्षकमा मूल्यांकन गरेर नम्बर दिने कार्यविधि छ । यिनीहरुको क्रमश २१, २९, १७ र १६ पूर्णाङक छ ।
बसबरियाले योजना बजेट तथा कार्यक्रम कार्यान्वयनको २१ नम्बरमध्ये ०.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनको २९ नम्बर मध्ये ३, लेखांकन तथा प्रतिवेदनको १७ अंक मध्ये सून्य, अनुगमन मूल्यांकन तथा लेखापरीक्षणको १६ मध्ये २ र राजश्व व्यवस्थापनमा पाउनेपर्ने पूर्र्णाङक १७ मा सून्य नम्बर पाएको छ । यो आर्थिक बर्षमा पुछारबाट दोस्रा् बनेको सोनामा गाउँपालिकाले जम्मा १२.५ अंक पाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा रौतहटको बौधीमाइ नगरपालिकाले सबैभन्दा कम १६ अंक पायो भने रुबीभ्याली गाउँपालिकाले १७ अंक पाएको थियो । सो वर्ष जम्मा जम्मा ६५० स्थानीय तहले यो प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बित्तीय सुशासन जोखिम मूल्यांकनमा आर्थिक वर्ष २०७८/७९ मा महोत्तरीको एकडारा गाउँपालिकाले जम्मा २ अंक पाएको थियो । सो वर्ष जम्मा ६५२ वटा स्थानीय तहले यो प्रतिवेदन सार्वजनकि गरेका थिए । आर्थिक वर्ष २०७७/७८ मा ३१२ स्थानीय तहले यो मुल्यांकन प्रतिवेदन सार्वजनिक गरे । जसमा न्यूनतम अंक पाउनेमा डोटीको आदर्श गाउँपालिका थियो । उसले सो वर्ष जम्मा ११.५ नम्बरमात्र ल्याएको थियो ।