
काठमाडौँ । सरकारले सहसचिव पदमा खुल्ला प्रतिस्पर्धा रोकिने भएको छ ।
प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा निजामती सेवा ऐनमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव छनोट गर्ने विकल्प खराखिने भएको हो । समितिका अधिकांश सांसद यो व्यवस्थासँग सहमत छन् ।
अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बन्न पाइने विकल्प थियो । यसको साटो उपसचिव पदमा खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गर्न पाइने विकल्प खुल्ला गर्न लागिएको छ । अहिले उपसचिव पदमा खुल्ला प्रतिस्पर्धा गर्न पाइदैन ।
सहसचिव पदमा आन्तरिक बढुवाबाट मात्रै पदपूर्ति गर्ने व्यवस्था ऐनमा गर्न लागिएको छ ।
सरकारले विधेयकमा संघीय निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा १० प्रतिशत पदपूर्ति खुलाबाट, १० प्रतिशत अन्तरतह प्रतिस्पर्धाबाट र ८० प्रतिशत बढुवाद्वारा पूर्ति गर्ने प्रस्ताव गरेको थियो। अन्तरतह प्रतिस्पर्धालाई कायम राखेर बाँकी ९० प्रतिशत बढुवाद्वारा पूर्ति गर्ने गरी उपसमितिले समझदारी जुटाएको हो।