
काठमाडौँ । बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ ।
जिल्लाका नौ पालिका सहभागी रहेको उक्त प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको हो ।
पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल प्रतिभा देखाएकाले अनुशासित टिम घोषणा भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिए ।
क्वाटरफाइनलबाट बाहिरिएको दोगडाकेदारको टिमले अनुशासितको उपाधि हात पारेकामा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेको बताए ।
फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई हराउँदै घरेलु टोली दशरथचन्द नगरपालिकाले जितेको छ । गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेल मैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्यो । च्याम्पियन भएसँगै दशरथचन्दले रु एक लाख २५ हजार पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।
पराजित मेलौलीले रु ७५ हजारमा चित्र् बुझायो । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता थियोे । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।