Odapalika - The Fourth Estate - चौथो अंग
बारपाक सुलिकोटका महिलाको निःशुल्क स्वास्थ्य परीक्षण 

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । 

मंगलबार राखिएको सो शिविरमा १२० जना महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये ८ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए । 

शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका  महिलाको तत्कालै उपचार सुरु गरेर ६ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४० वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिए । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनले नाइ छ । 

गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गराएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update