Odapalika - The Fourth Estate - चौथो अंग
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय सरकार प्रमुखमाथि अवहेलना मुद्दा 

काटठमाडोँ । गएको १ फागुनमा जनयुद्ध दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेका ४० भन्दा बढी स्थानीय तहका प्रमुख र अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । 

निवेदनमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन नमिल्ने सर्वोच्च अदालतको अन्तिम फैसला विपरित स्थानीय तहहरुले १ फागुनमा सार्वजनिक बिदा दिएका कारण अदालतको अवहेलना भएको जिकिर छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङ, विनयध्वज चन्द तथा द्वन्द्वपीडितहरू ज्ञानेन्दराज आरण, चिरञ्जीवी गिरीलगायतले सर्वोेच्च अदालतमा बेग्लाबेग्लै अवहेलना मुद्दा दर्ता गराएका छन् । मुद्दामा २६ फागुनका लागि सुनुवाइ तोकिएको छ । 

जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको २०७९ माघ २९ को निर्णय र २०८० फागुनको बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९ चैत २ गते प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरू सर्वोेच्च अदालतले बदर गरेको थियो ।

निवेदकका अनुसार ४० भन्दा वढी स्थानीय तहले १ फागुनमा सार्वजनिक बिदा दिएका थिए । यीमध्ये १४ वटा स्थानीय तहविरुद्ध अघिलो वर्ष पनि यही विषयमा अवहेलना मुद्दा दर्ता भएको छ । यी मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन नै छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update