
काठमाडौँ । सरकारी जागिरका लागि मागभन्दा कयौ गुणा बढीको आवेदन पर्ने गर्छन । तर केही समय अघि १७ जनाका लागि खुलेको एउटा सरकारी जागिरका लागि जम्मा १ जनाले मात्र फाराम भरेको कुरा भने नौलो लाग्नसक्छ ।
एकजनाले मात्रै आबेदन दिएको भन्दा आवेदन दिने ती व्यक्तिसमेत लिखित परीक्षामै फेल भएर कसैको पनि नियुक्ति हुन नसकेको विषय भने झन अनौठो छ ।
सन्दर्भ हो, नेपाल नागरिक उड्ययन् प्राधिकरण अन्तरगतको फायर सर्भिसेस चौथो तहका लागि आवेदन नपाइएको विषय ।
लोकसेवा आयोगले फायर एभिएसन सर्भिसेसका लागि १७ जना कर्मचारी चाहिएको भन्दै विज्ञापन गरेको थियो । विज्ञापन अनुसार खुला ९ जना, महिला ३ जना, आदिवासी जनजाति ३ जना, मधेशी १ जना र अपांगता भएका व्यीक्तका लागि १ जनाको कोटा थियो ।
तर आयोगले गत २० असारमा भने १७ जनाको माग भएकामा आवेदन दिएका १ जनाको मात्र परीक्षा लियो । परीक्षा दिएका ती एकजना पनि पास हुन नसकेको लोकसेवा आयोगले जनाएको छ ।
१८ फागुनमा लोकसेवा आयोगले निकालेको लिखित परीक्षाको नतिजामा परीक्षामा सामेल १ जना व्यक्ति समेत पास नभएको उल्लेख छ । यो सेवामा लोकसेवाले दशौँ तहसम्मको परीक्षा लिने गरेको छ । तर चौथो तहमा भने निवेदक नै भेटिएनन् भने भेटिएका एक जनासमेत पास हुन सकेनन् ।