
काठमाडौँ । सरकारले जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला लगायतलाई दिएको सामाजिक सुरक्षा भत्ता एनआइसी एसिया बैंकले रोकिदिएको छ ।
सरकारले मंसिर ११ गते नै दिएको सामाजिक सुरक्षा भत्ता बैंकले विभिन्न कारण देखाएर अझै भुक्तानी रोकेको छ । बैंकले ‘केवाइसी अपडेट नभएको’ भन्दै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित गरिदिएको हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह तोकेर नै प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा बैंकको शाखा हुनै पर्ने नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकको यही नीतिगत व्यवस्थाको कारण एनआइसी एसिया बैंक देशभरका ७५३ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा सो स्थानीय तहको बैंकको रुपमा कार्यरत छ ।
यसरी कार्यरतमध्ये एनआइसी एसिया बैंक रौतहट जिल्लाको गजुरा नगरपालिका पनि छ । सो नगरपालिकाले मंसिर ११ गते नै सामाजिक सुरक्षा भत्ता वापत ६ करोड रुपैयाँ पठाए पनि बैंकले सम्बन्धित व्यक्तिलाई सो रकम लिनबाट रोकेको नगरपालिकाका प्रवक्ता रामजित चौधरीले बताए ।
‘नगरपालिकाले मंसिर ११ गते सामाजिक सुरक्षा भत्ताको लागि भनेर ६ करोड रुपैयाँ एनआइसी एसिया बैंकमा पठाएको थियो । तर, बैंकले केवाइसी (ग्राहक पहिचान) भएन भनेर अहिलेसम्म पनि सो रकम सम्बन्धित व्यक्तिलाई भुक्तानी दिएको छैन । यो विषयमा हामीले बैंकसँग पटक पटक कुरा गर्दा पनि समस्या समाधान भएको छैन, नगरपालिकाका प्रवक्ता चौधरीले वडापालिकासँग भने ।
उनले सो नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या ८ हजार रहेको पनि जानकारी दिए ।
बैंकका प्रमुख सुचना अधिकारी अर्जुनराज खनिया नगरपालिकाले पठाएका व्यक्तिहरुको ग्राहक पहिचान (केवाइसी) नभएका कारण भुक्तानी रोकिएको तर रकम भने सम्बन्धित खातावालाको खातामा जम्मा गरिदिएको बताउँछन् ।
‘नगरपालिकाले पठाएको नामका आधारमा बैंक खाता खोलिएको थियो । उहाँहरुको केवाइसी भएको थिएन । जसजसको केवाइसी भयो, उहाँहरुले रकम झिक्न सक्नुभयो । केवाइसी नभएका व्यक्तिहरुको खाताबाट रकम झिक्न मिलेन । रकम झिक्न नमिलेका व्यक्तिहरुको खातामा नै रकम छ, हामीले रोकेको होइन,’ सुचना अधिकारी खनियाले वडापालिकासँग भने ।
सुचना अधिकारी खनियाले यस्तो दाबी गरेपनि उनको दाबी भ्रमपूर्ण देखिन्छ । किनभने नगरपालिकाका प्रवक्ता चौधरीका अनुसार कुनै पनि नागरिकले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गजुरा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ८ हजार नागरिक छन् भने ती कसैको पनि केवाइसी अपडेट थिएन भन्ने कुरा भ्रमपूर्ण नै हो ।
एनआइसी एसिया बैंकका सुचना अधिकारी खनियाको तर्क सही हुनको लागि नगरपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउने नारिकको नामावली पठाएको र ती नागरिकले पहिलो किस्ता रकम पाउन लागेका हुनुपर्ने थियो । वा पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता पाउन लागेका नागरिकको मात्रै सामाजिक सुरक्षा भत्ता भुक्तानी रोकिएको भएपनि खनियाले भनेको कुरा सही हुन सक्थ्यो । तर, विगतदेखि नै सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकको पनि केवाइसी अपडेट नभएको नाममा अहिले भुक्तानी रोकियो भन्नु आफैमा असंगत र भ्रमपूर्ण तर्क हो ।
नगरपालिकाका प्रवक्ता चौधरी अब भने बैंक किस्ताबन्दी रुपमा सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्न तयार भएको बताउँछन् ।
‘हाम्रो भत्ता किन रोकेको भनेर अपाङ्ग, जेष्ठ नागरिक, एक महिला जस्ता राज्यले संरक्षण गरिरहेएका व्यक्तिहरु आएर हामीलाई सोधिरहनु भएको छ । नगरपालिकाले गत मंसिर ११ गते नै रकम बैंकमा पठाइसकेको छ । भत्ता हामीले होइन, बैंकले रोकेको छ । तर, नागरिकलाई यो कुरा थाहा छैन । राज्यले संरक्षण गरेका नागरिकलाई एउटा बैंकको कारण भत्ता रोकिएको विषयमा हामीले पनि धेरै पहल गर्यौं । अहिले भने बैंक सबैको होइन, केही संख्याका व्यक्तिलाई भुक्तानी दिन तयार भएको छ, त्यही भए पनि लिदै गरौं भन्ने लागको छ,’ प्रवक्ता चौधरीले वडापालिकासँग भने ।
प्रवक्ता चौधरीका अनुसार बैंकले प्रत्येक वडाका २०० जनाको दरले भुक्तानी गर्ने भनेको छ । सोही अनुसार भत्ता वितरणको कार्यक्रम तय गरिएको चौधरीले जानकारी दिए ।
‘आज वडा नं. १ का २ सय जनालाई भत्ता वितरण गर्ने तालिका बनाइएको छ । यी २ सय जनामा सबैभन्दा कमजोर आर्थिक अवस्था भएका नागरिकको पहिचान गरी वितरण गर्ने योजना हामीले बनाएका छौं । यो वडामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या ८ सय छ,’ प्रवक्ता चौधरीले भने ।
बैंकका सुचना अधिकारी भने खनिया भने अहिलेसम्म सो नगरपालिकाका ३५ सय व्यक्तिको केवाइसी अपडेट भइसकेकोले उनीहरुको भुक्तानी हुन लागेको बताउँछन् ।