Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गम्भीर मतभेद, उपप्रमुख बैठकको निष्कर्षः हामी दयाका पात्र होइनौँ 

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका उपमेयर र उपाध्यक्षहरुको फोरमले मेयर र अध्यक्षहरुको कार्यशैली र रबैयाप्रति गम्भीर प्रश्न उठाएका छन् ।  

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलबीचको विवाद सतहमा आएको भोलिपल्टै मंगलवार बिहान भक्तपुरको थिमि व्याङ्क्वेटमा बसेको उपत्यका उपमेयर र उपाध्यक्ष फोरमको बैठकले मेयर र अध्यक्षहरुको कार्यशैलीबारे चर्को आलोचना गरेका छन् । 

यो फोरममा काठमाडौँ महानगरसहित उपत्यकाका १८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरु छन् । भक्तपुरमा बिहान बसेको बैठकमा भने भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षबाहेक सबै उपस्थित थिए । 

आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल गर्न भन्दै बसेको बैठकमा १ जना उपाध्यक्ष र १ जना उपमेयरले मेयरहरुले ‘अति गरेको’ भन्दै विषयबस्तु राखेपछि बैठकमा प्रमुख र अध्यक्षहरुको कार्यशैली ठीक नभएको भन्दै चर्को आलोचना भएको छ । 

बैठकमा बोल्ने अधिकांशले प्रमुख र अध्यक्षले एकलौटी निर्णय गर्ने गरेको, उपाध्यक्ष र उपमेयरमाथि विभेद गरेको आफुहरुलाई सधै सहायक मात्र ठानेको र दयाको पात्र जस्तो व्यवहार गरेको भन्दै आलोचना गरेका छन् । 

बैठकमा सहभागी एकजना उपप्रमुखका अनुसार बैठकमा मेयर र अध्यक्षले जस्तै जनताको भोट पाएर आएका उपाध्यक्षलाई पेल्ने, हेप्ने र मेयर तथा अध्यक्षले आफु एक्लै ५१ प्रतिशत बहुमत भएको भन्दै दम्भ देखाएर एकलौटी निर्णय गर्ने गरेको भन्दै असनतुष्टि जनाएका छन् । 

यो असन्तुष्टि पछि उपत्यका मेयर फोरममार्फत समस्याको जानकारी गराउने र एक अर्कामा समन्वय गरेर सौहार्दपूर्ण रुपमा अघि बढ्ने गरी बैठकमा निर्णय भएको छ । 

बैठकमा सहभागी अर्का एक उपप्रमुखका अनुसार बैठकले औपचारिक रुपमा मेयरका रवैयाविरुद्ध कुनै निर्णय नगरे पनि मेयर फोरममा यसलाई गम्भीरतापूर्वक उठाउने र उपप्रमुख तथा उपाध्यक्षहरुमाथि प्रमुख र अध्यक्षहरुबाट भएको विभेदबारे भण्डाफोर गरेर अघि बढ्ने मौखिक सहमति जुटेको छ । 

बिहान ११ बजेसम्म बसेको बैठकमा काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर डंगोलले भने कुनै धारणा राखिनन् । उनले उपप्रमुखहरुको गुनासो पछि ‘हो समस्या छ, समाधानका लागि पहल गरौँ’ भनेर धारणा मात्र राखेको ती उपप्रमुखको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update