Odapalika - The Fourth Estate - चौथो अंग
१४ महिलालाई चन्द्रागिरि नगरपालिकाको सम्मान

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले विभिन्न ५ विधामा उत्कृष्ट योगदान पु¥याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको हो ।  

समाजसेवामा समर्पित भई अतुलनीय योगदान पु¥याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा  नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा मिनु सिग्देल लोहनी र डा सुनिता थापालाई सम्मान गरिएको हो ।  

यसैगरी, महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र एवं दोसल्ला ओढाए सम्मान गरे । 

नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताए । उनले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण  प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताए ।

उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताइन् ।  
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update