
काठमाडौँ । सनातन हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरिरहेका दल र व्यक्तिहरु तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रिय बन्ने होडमा जुटेका छन् ।
ज्ञानेन्द्र शाह आज पोखरा भ्रमण सकेर काठमाडौँँ फर्कदैछन् । काठमाडौँ फर्कने क्रममा उनीहरुले बिम्मात्मक रुपमा ‘राजा फर्कने दिन’ भन्दै प्रचार मात्रै गरेका छैनन्, ज्ञानेन्द्रको स्वागतमा एयरपोर्टदेखि ज्ञानेन्द्र निवाससम्म स्वागतको तयारी गरेका छन् ।
राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले एयरपोर्ट गेटदेखि गौशालासम्म पार्टीका केन्द्रीय देखि स्थानीय तहसम्मका नेतालाई स्वागतका लागि उतार्दै छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि सडकमा उभिएर ज्ञानेन्द्र शाहको स्वागत गर्ने बताएको छ ।
उनी आज साढे तीन बजे त्रिभुवन विमानस्थल हुँदै फर्कने कार्यक्रम रहेकाले सो बेला सबैलाई स्वागतमा आउन आह्वान गरेको ती दलहरुले बताएका छन् ।
उता दुर्गा प्रसाइलगायतको राष्ट्र, राष्ट्रियता, कर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसहितका संघसंस्था पनि ज्ञानेन्द्रको स्वागतमा सडकमा लामबद्ध हुँदैछन् ।
राप्रपाको तर्फबाट स्वागत व्यवस्थापनको जिम्मा ज्ञानेन्द्र शाहीले लिएका छन् भने अभियानका तर्फबाट दुर्गा प्रसाइँलगायतको समुह सक्रिय छ ।
सरकारले अभियानकर्मीको उम्साहटमा नलाग्न ज्ञानेन्द्रलाई चेतावनी दिइरहेका बेला राजधानीमा ज्ञानेन्द्रको स्वागतमा उत्रिएको देखाएर राजा र राजतन्त्रको पक्षमा माहोेल खडा गर्ने दुई दल र अभियानकर्मीको लक्ष्य देखिन्छ ।
सरकारले मुठभेड नहोस भनेर सुरक्षा व्यवस्थामा कडाइ गरिरहेको बताएको छ ।
उता आफुलाई समर्थन गरिरहेका दल र शक्तिले गर्न लागेको स्वागतका विषयमा भने ज्ञानेन्द्र शाह मौन छन् । अभियानकर्मी र राप्रपाले उपत्यकाका विभिन्न स्थानबाट स्वागत जुलुसको तयारी पनि गरिरहेको छ ।