
काठमाडौँ । राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाइँलगायतको समूहले तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई सक्रिय हुन आह्वान गर्दै आज उनको भव्य स्वागत गर्ने तयारी गरेका छन् ।
पोखराबाट काठमाडौँ फर्कदै गरेका ज्ञानेन्द्रलाई स्वागत गर्न उनीहरुले आज ठूलो जनशक्ति सडकमा उतार्ने बताएका छन् ।
सनातन हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा वकालत गरिरहेका उनीहरु ज्ञानेन्द्रलाई पुन नारायणहिटीमा लगेर श्रीपेच पहिराउने भनिरहेका छन् ।
अभियानकर्मी लागिपरेका बेला सरकारले ज्ञानेन्द्रलाई धेरै नहौसिन भनेको छ भने राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमार्फत राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध तीखो टिप्पणी गरिरहेका छन् ।
टिप्पणीकर्तामध्ये एमालेका २ जना नेता विष्णु रिमाल र विष्णु रिजालको फेसबुक पोष्ट भने यस्तो छ ।
विष्णु रिमाल
यिनीहरू नै थिए त ! अढ़ाई सय बर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजा सहित सिङ्गो वंशलाई “उनीहरूद्वारा-उनीहरूका लागि - उनीहरूले नै” खरानी बनाएका हैनन् र? “एयरपोर्ट जाऔं- स्वागत गरौं” भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डेन डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र?! “रक्त शुद्धता र वंश-परंपरा”को कुरा नश्लिय पाखण्ड हो ! अंग्रेज़ीमा एउटा भनाई छ नि- “फर्गिभ- वट नट फर्गेट!”
विष्णु रिजाल
गणतन्त्र ज्ञानेन्द्रले स्वेच्छाले किस्तीमा राखेर दिएका होइनन् । जनताको बलिदानीपूर्ण संघर्षका अगाडि घुँडा टेकेर नारायणहिटीबाट निस्केर गणतन्त्र कार्यान्वयन गर्न सघाएका कारण नै उनी र उनको परिवारले अरु नागरिक सरह देशभित्रै शान्तिपूर्ण रुपमा बस्न, ब्यापार गर्न, घुमफिर गर्न, बोल्न आदि पाइरहेका छन् । यदि जनतासँग फेरि लड्नै चाहेको हो भने विश्वमा पतन भएका राजा र उनका परिवारको इतिहास एक पटक राम्ररी पढ्दा हुन्छ । किनकि, राजतन्त्र र जनताबीचको लडाइँमा जनताले कहिल्यै हारेका छैनन् र हार्दैनन् । बरु राजा र उनको परिवार न बाँकी रहेको पाइन्छ न त आफ्नो देशमै बस्न पाएको भेटिन्छ । ज्ञानेन्द्रले त बुझेकै हुनुपर्छ, उनलाई उकासेर मरेको राजतन्त्रका्े पुच्छर समातेर राजनीतिको बैतरणी तर्न खोज्नेहरुले यति कुरा बुझिदिए ७८ बर्षका पूर्व राजालाई अनावश्यक सास्ती हुने थिएन ।