
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कदा राष्ट्रिय मिडियाको शिर्षक बने । उनले फागुन ७ गते दिएको भिडियो सन्देश र त्यसलगत्तै राजावादीहरुले गर्ने भनेका गतिविधिहरुका कारण पूर्वराजा शाह अहिले चर्चाको केन्द्रमा छन् । सोही कारण उनी पोखराबाट घर काठमाडौँ फर्कदा संचार माध्यमको शिर्षक बनेका हुन् ।
पूर्वराजा शाह व्यक्तिगत कामको शिलसिलामा पोखरा गएका थिए । उनी आफ्नो काम सकेर आज काठमाडौँ फर्केका हुन् । उनी काठमाडौँ फर्कदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादी दल र केही समर्थकहरुले उनको स्वागत गरेका थिए ।
पूर्वराजा शाह काठमाडौँ फर्कने समय पारेर राप्रपाले शक्ति प्रदर्शन गरेको छ । शाहले फागुन ७ गते एउटा भिडियो सन्देश प्रवाह गर्दै आफूलाई साथ दिन आग्रह गरेका थिए । उनको यस्तो आग्रहपछि राजावादी र राप्रपा हौसिएका हुन् ।
राजधानी दैनिकका सम्पादक सरोज मिश्र पूर्वराजा शाहको स्वागतमा सडकमा करिब १५ हजार मानिस देखिएको र त्यति मानिस सहभागी भएको कुनै पनि ‘जमघट’ समाचारको विषय बन्ने बताउँछन् ।
‘जस्तोसुकै दुर्घटना भए पनि, शहरको सडकमा चितुवा पसेपनि समाचार बन्छ । यहाँ त १२ देखि १५ हजार मासिक शाहको स्वागतमा निस्किएका छन् । त्यसैले यो विषय समाचार बन्नु स्वभाविक हो,’ सम्पादक मिश्रले वडापालिकासँग भने ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका राजनीतिक विश्लेषक प्रभुनारायण बस्नेत जनचासोको विषय समाचारको विषय बन्नु पत्रकारिताको सामान्य सिद्धान्त नै भएको बताउँछन् ।
‘जनताको ध्यान गएको विषय समाचारको विषय बन्छ । यो कुरा पत्रकारिताको सामान्य सिद्धान्तभित्रको कुरा हो । अहिले त्यतातिर (पूर्वराजा ज्ञानेन्द्र शाहतिर) जनताको ध्यान गएको छ । त्यसैले यो विषय समाचारको विषय बनेको हो,’ पत्रकार बस्नेतले भने ।
राजनीतिक विश्लेषक समेत रहेका पत्रकार बस्नेतले जनताको ध्यान पूर्वराजा ज्ञानेन्द्र शाहतिर जानुका पछाडि धेरै कारण रहेको बताउँछन् । कारणहरु जे जस्ता भएपनि जनताको ध्यान तानेको विषयलाई संचारमाध्यमले प्राथमिकताको साथ समाचार प्रकाशन प्रसारण गर्नु स्वभाविक भएको उनले बताए ।
सम्पादक मिश्र केही मानिसमा दलहरुप्रति आक्रोस रहेको तथा केही मानिसमा नैराश्यता रहेको समयमा त्यो आक्रोस र नैराश्यता प्रकट गर्ने गतिलो प्लेटफर्म पाउँदा १२ देखि १५ हजार मानिस सहभागी हुन स्वभाविक भएको बताउँछन् ।
कुन अनलाइनले के शिर्षकमा समाचार दिए ?
अनलाइन खबरले ‘काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत’ शिर्षकमा समाचार प्रकाशन गरेको छ ।
सेतोपाटी डटकमले ‘काठमाडौं आइपुगे पूर्वराजा शाह (तस्बिरहरू)’ शिर्षकमा समाचार प्रकाशन गरेको छ ।
रातोपाटी डटकमले ‘ज्ञानेन्द्र समर्थकको शक्ति प्रदर्शन, सडक र विमानस्थलमा जे देखियो (तस्बिरहरु)’ शिर्षकमा समाचार प्रकाशन गरेको छ । यस्ते बाह्रखरी डटकमले ‘पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं ओर्लिंदा... (तस्बिरहरू)’ शिर्षकमा समाचार प्रकाशन गरेको छ ।
खबरहब डटकमले ‘पूर्वराजा शाह काठमाडौंमा, र्यालीसहित निर्मल निवासतिर राजवादीको भिड’ शिर्षकमा समाचार प्रकासन गरेको छ ।
लोकान्तर डटकमले यो समाचारलाई खासै महत्व दिएको छैन । बरु सो अनलाइनले ‘राजावादीको गतिविधिविरुद्ध सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँ, के हो रास्वपाको मत ?’ शिर्षकमा विश्लेषणात्मक समाचार प्रकाशन गरेको छ ।
नेपाल खबर डटकमले ‘काठमाडौँ आइपुगे पूर्वराजा’ शिर्षकमा समाचार प्रकाशन गरेको छ ।