
काठमाडौँ । पछिल्लो केही महिना सामाजिक संजालमा राजावादीहरु काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति निकै आशावादी जस्ता देखिन्थे ।
मेयर बालेनको नेतृत्वमा नेपालमा पुनः राजतन्त्र स्थापना गर्नेसम्मका पोष्ट, स्ट्याटस र कमेन्टहरु भेटिन्थे । कतिपय अवस्थामा त आफूहरुलाई बढी ‘इरिटेड’ गर्दा एमालेका नेता कार्यकर्ताहरु पनि मेयर बालेनलाई ‘प्रतिक्रियावादीको प्रतिनिधि भएको हुन सक्ने’ उनलाई राजावादी नै हुन् भन्ने आशय व्यक्त गर्दथे ।
तर, राजावादीहरुले नेपालमा राजतन्त्र पुनःस्थापनाको लागि ‘निर्णायक आन्दोलन’ सुरु गर्दै गर्दा भने राजवादी र मेयर बालेनबीच स्पष्टसँग दुरी बढेको छ । फागुन २५ गते राप्रपासहितका राजावादी पार्टी र दुर्गा प्रसाईं, स्वागत नेपाल जस्ता राजावादी अभियान चलाइरहेका समुहले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने क्रममा ‘भव्य स्वागत’ गरेका थिए ।
सो स्वागत कार्यक्रममा महानगर क्षेत्रमा फोहोर गरेको तथा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई १ लाख रुपैयाँ जरिवाना तिर्न पत्र पठाएपछि राजावादी र मेयर बालेनबीच स्पष्ट दुरी देखिएको हो । नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले राप्रपालाई पठाएको पत्रमा फोहोरमैला व्यवस्थापनसहित ३ वटा ऐनको प्रावधान उल्लघन गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना तिर्न भनिएको छ ।
‘...फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङ्गमा भौतिक क्षति र जथाभाबी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’ नगर प्रहरी निरीक्षक गाछा मगरले पठाएके पत्रमा उल्लेख छ ।
महानगरले यस्ते पत्र पठाएपछि राप्रपा रिसाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ महानगरपालिका आफ्नो पार्टी र राजासंस्थाप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तै, उनले महानगरले उल्लेख गरेको जरिवाना नतिर्ने पनि बताएका छन् ।