Odapalika - The Fourth Estate - चौथो अंग
महादेवको आरधना गरी आज तीज ब्रत मनाइदै 

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।   

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । 

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको मानिदै आएको छ । 

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

 सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ ।

विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । 

तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update