
काठमाडौँ । फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले तोकेको १ लाख रुपैयाँ जरिमाना राप्रपाले तिरेको छ । राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले महानगर पुगेर आज जरिमानावापतको रकम बुझाए ।
तर फोहोर गरेको अभियोगममै महानगरले जरिमाना तोकेको एमालेले भने अहिलेसम्म जरिमाना बुझाएको छैन । पार्टि कार्यालय, हुला हुँदै इमेलसम्मबाट पनि जरिमानाको पत्र थमाए पनि एमालेले अहिलेसम्म जरिमाना वापतको रकम नतिरेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन् ।
गत ७ मंसिरमा काठमाडौँको दरबारमार्गमा एमालेले जागरणसभा गरेको थियो । सो सभाका क्रममा सडक तथा सडकपेटीमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिमाना गरेको थियो ।
महानगर पत्र बोकेर एमाले मुख्यालय च्यासल पुगेको थियो । तर मुख्यालयले जागरणसभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभई काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेकाले उतै पत्र दिन भनिएको थियो ।
त्यसयता कुनै पनि कमिटीबाट जरिमानाबापतको रकम दाखिला नभएको महानगरको भनाइ छ । मानन्धरका अनुसार जरिमाना असुलका लागि अब निर्वाचन आयोगलाई पत्राचार गर्ने र आयोगले नै राजनीतिक दलसँग जरिमाना असुल गर्ने मानन्धरको भनाइ छ ।