Odapalika - The Fourth Estate - चौथो अंग
सहकार्य र समन्वयमा स्थानीय तह सधैँ कमजोर, यस्तो छ नतिजा 

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु सहकार्य र समन्वयमा सधै कमजोर देखिएका छन् । 

तथापि पछिल्ला ५ वर्षमा हरेक वर्ष उनीहरुबीचको समन्वय र सहकार्यमा भने सुधार हुँदै गएको देखिएको छ । स्थानीय तहहरुले आफैले गर्ने कार्यसम्पादन स्वमूल्यांकनको विगत ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने स्थानीय तहले आफुले आफैँलाई गर्ने मूल्यांकनका  १० सूचकमध्ये सहकार्य र समन्वयमा भने उनीहरु कमजोर देखिएका हुन् । 

स्थानीय तहहरुको मूल्यांकन १० वटा सूचकका आधारमा गरिन्छ । जसमा १०० अंकमा उनीहरुको यो सूचकको मूल्यांकन गरिन्छ । 

जसमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायकि कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय शीर्षक छन् । 

यी शीषकमध्ये स्थानीय तहले सहकार्य र समन्वयमा भने अघिल्लो आर्थिक वर्षमा बाहेक कहिल्यै पनि औषतमा ५० प्रतिशत पनि प्रगति गरेका छैनन् । 

आर्थिक वर्ष २०८०/०८१ मा भने सहकार्य र समन्वय शीर्षकमा स्थानीय तहहरुले समग्रमा ६६.२ अंक पाएको स्थानीय तह स्वमूल्यांकन नतिजा (लिजा)को रिपोर्टमा देखिन्छ । 

यो रिपोर्टका अनुसार सहकार्य र समन्वयमा मधेश प्रदेशका जनप्रतिधि र स्थानीय तहहरु भने असाध्ये कमजोर देखिएका छन् । समग्र मूल्यांकनमा सुधार गरेको अघिल्लो वर्षमा समेत मधेश प्रदेशले सहकार्य र समन्वयमा ४२.३६ प्रतिशत मात्र नतिजा हासिल गरेको देखिन्छ । 

स्थानीय तहहरुको शासकीय प्रवन्ध र न्यायिक कार्यसम्पादन भने अन्य सूचकको तुलनामा राम्रो देखिन्छ ।

हेर्नुहोस् सहकार्य र समन्वयमा स्थानीय तहहरुको विगत ५ वर्षको अवस्था 

२०७६/०७७ मा ३१.६६ अंक

२०७७/०७८ मा ३३.६१ अंक

२०७८/०७९ मा ३६.१३ अंक

२०७९/०८० मा ४८.१३ अंक

२०८०/०८१ मा ६६.२ अंक

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update