Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँबासीलाई तरकारीदेखि पस्मिनासम्म दिनसक्ने डोल्पाका स्थानीय तहको घोषणा, के भन्यो महानगरले ? 

काठमाडौँ । डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरुले काठमाडौँ महानगरपालिकासँग कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित रहेको बताएका छन् । 

उपप्रमुख सुनिता डंगोललाई भेटेर उनीहरुले महानगरपालिकाकाले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल पनि गरे । 

उनीहरले विभिन्न जातका जडिबुटी, फापरलगायत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगायत तरकारी, दूध, मासुलगायत पशुजन्य उत्पादन, ऊन, पश्मिनालगायत लत्ताकपडा काठमाडौँलाई दिन सकिने बताए ।

यसबाट स्थानीयको आयमा वृद्धि बताउँदै डोल्पाबाट धेरैले धेरै लिएको तर थोरै दिएको बताउँदै महानगरपालिकाको कार्यक्रमबाट लिनेदिने बराबरी हुने बताए । 

छलफलमा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङ्, सेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्सहित वडाध्यक्षहरु, रोजगार संयोजक, स्वास्थ्यकर्मीसहितको टोली सहभागी थियो । 

डोल्पा जिल्ला विकासका दृष्टिले पछाडि परेको र महानगरपालिकाबाट यसको उन्नतिका लागि सहयोग प्राप्त हुने अपेक्षा राखेपछि उपप्रमुख डंगोलले एक पटक दिएको सहयोग दिगो नहुने बताउँदै महानगरपालिका वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने गरी सहयोग गर्ने नीतिमा रहेको बताइन् । 

‘एग्रो पुलिङ् हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो । यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौँका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ,’ उनले भनिन् । 

एग्रो पुलिङ् कार्यक्रममार्फत महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने भएकोले यही कार्यक्रममार्फत डोल्पाका स्थानीय तहसँग काठमाडौँले काम गर्न सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले बताए । 

छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष गुरुङ्ले ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा भन्दै भने, ‘आफ्नै ठाउँमा उद्यम गरेर बसाइसराइै रोक्न सके पनि ठुलै उपलब्धि हुने थियो । यस्ता कार्यक्रम चलाउन महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ 

त्यस क्रममा सेफोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष गुरुङ्ले मानिसहरु गाउँमा नबस्ने भएपछि पालिकाको अस्तित्व बचाउनै कठिन भएको धारणा बताए । ‘सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले आय गर्छ । तर यो आय संघ सरकार र निकुञ्जले नै लिन्छन् । यसबाट सुरक्षा त छ तर विकास छैन । यसबेला हामीलाई महानगरपालिकाले एउटा एम्बुलेन्स प्रदान गर्न सक्यो भने पालिकाबाट जोमसोम विमानस्थलसम्म विरामी ल्याएर नागरिकको ज्यान बचाउन सकिने थियो,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update