
काठमाडौँ । उर्जा प्रभावकारी भवन डिजाइनका लागि इञ्जिनियर र आर्किटेक्टहरुलाई काठमाडौँ महानगरपालिकाले तालिम सञ्चालन गरिरहेको छ ।
बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा लघु, साना र मध्यम उद्यमीका लागि सोमबार (हिजो) सुरु भएको तालिम भोलि (बुधबार) सकिनेछ । तालिममा हावापानी सुहाउँदो, तापीय सुविधा सहितको भवन डिजाइन, तापको संवाहन, झ्याल ढोका, तथा भेन्टिलेसनमा प्रयोग गरिने सिसाको ताप र प्रकाशसँग सम्बन्ध, उर्जा प्रभावकारी भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्री, यस्ता भवन निर्माण सम्बन्धी मापदण्ड, भवन बनाउँदा वैङ्कहरुबाट प्राप्त हुने सहुलियत ऋणलगायत विषय समावेश छन् ।
मानिसको सरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यसका लागि आरामदायी तापक्रम भनेको २० देखि २६ डिग्री सेन्टिग्रेडसम्मको हो । कार्यस्थलबाट राम्रो उत्पादकत्व प्राप्त गर्न २१ देखि २६ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम चाहिन्छ । यो अवस्थालाई ध्यान दिन सकिएन र भवनमा तापीय असुविधा भयो भने मानिसहरु छिटो विरामी हुने, चिन्ता बढ्ने, काममा ध्यान नजाने, निद्रामा समस्या आउनेजस्ता स्वास्थ्य समस्या हुन सक्छन् ।
हावापानीलाई ध्यान दिँदै भवनको डिजाइन गर्नु उर्जा प्रभावकारी भवन निर्माणको मुख्य विषय हो । यसका लागि भवन डिजाइन गर्ने इञ्जिनियर र आर्किटेक्ट, एसी डिजाइनर, नविकरणीय उर्जा उद्यमी, ठेकेदार, निर्माणकर्ता, निर्माण सामग्री उत्पादक, झ्यालढोका उत्पादकको मुख्य भूमिका रहन्छ ।
तालिम सुरु गर्दै महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले सुधार गर्न सकिने ठाउँमा प्रयास अगाडि बढाउँदै लगिएको बताए ।
सहरी व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर जीवन रेग्मी, प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन पनि उर्जा प्रभावकारी भवन निर्माणलाई प्राथमिकता दिनु पर्ने अवस्था रहेको बताए । विभागका सहायक निर्देशक ईश्वरी लौडारी, मानव बसोकास अनुकुल सहरी वातावरण सिर्जना गर्न प्राकृतिक वस्तुसँगको सामीप्यता बढाउनु पर्नेमा जोड दिए ।
उर्जामैत्री वागदरबार सवलीकरण अध्ययन र डिजाइन
महानगरपालिकाले केन्द्रीय कार्यालय बागदरबारलाई उर्जामैत्री सवलीकरणको सम्भावना र डिजाइनका लागि २०८० फागुन १८ गते बिनसँग सम्झौता गरेको छ । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बिनका परियोजना प्रबन्धक डेनियल नेयरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बागदरबारको सवलीकरण (रेक्टोफिटिङ्) गर्दा उर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् । बढ्दो वातावरणीय ह्रास घटाउन उर्जामैत्री भवन निर्माणमा काम सुरु भएपछि कार्वन उत्सर्जनबाट हुने असर कम गराउन मद्दत हुनेछ ।
नेपालले सन् २०४५ सम्ममा शून्य हरित गृह ग्याँस उत्सर्जनका लागि प्रतिवद्धता जनाएको छ । २०३० सम्ममा सिमेन्ट तथा इटा उद्योगमा कम प्रदुषण उत्सर्जन हुने प्रविधिको प्रयोग गरेर कोइलाको प्रयोग घटाउने लक्ष्य राखिएको छ । यसै बर्षसम्ममा ५ वटा पर्यटकीय गन्तव्यहरुलाई कार्वन तटस्थ बनाउने लक्ष्य छ । यसै वर्ष (सन् २०२५) सम्ममा सहरबाट न्यून कार्वन उत्सर्जन तथा बसोबासका लागि उत्थानशील मौसम व्यवस्थापनका लागि वातावरणीय व्यवस्थापन मार्गदर्शन निर्माण गर्ने लक्ष्य छ ।