
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण भएको उपप्रमुख सुनिता डंगोलले दाबी गरेकी छन् ।
महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि आएकी एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले यस्तो दावी गर्दै समतामूलक समाज निर्माण गर्ने, महिलाहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको बताइन् ।
‘लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको छ । कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएका छन् । वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रम कार्यान्वयन गर्न वार्षिक बजेटको व्यवस्था गरिएको छ,’ डंगोलले भनिन् । महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको छ । यस्ता कामबाट आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकास भएको उनको भनाइ छ ।
छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको बताइन् । ‘फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पु¥याउने र उहाँहरुलाई भेला गराएर दक्षिण एशियाली मुलुकस्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।’ यसका लागि यहाँको नेतृत्वबाट धेरैलाई प्रेरणा दिन सकिन्छ । यसका लागि हामीले आयोजना गर्ने कार्यक्रममा यहाँलाई बक्ताका रुपमा निमन्त्रणा गर्न चाहन्छौँ,’ उनले भनिन् ।
,