Odapalika - The Fourth Estate - चौथो अंग
विपद प्राधिकरणको नियुक्ति देखाएर शेखरसँग बार्गेनिङ गर्दै गृहमन्त्री लेखक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक कित्ता परिवर्तन गर्नको लागि गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति देखाएर बार्गेनिङमा लागेको तथ्य खुलेको छ ।

नेपाली कांग्रेसभित्र राजनीतिक लाभ लिनकै लागि मन्त्री लेखकले संस्थापन र इतर समुहका खेल्न लागेका छन् । राजनीतिक दाउपेचकै लागि मन्त्री लेखकले विपद व्यवस्थापन जस्तो महत्वपूर्ण र संवेदनशील निकायको नेतृत्व चयनलाई झण्डै चार महिनादेखि रहस्यमय ढंगले रोकेर राखेका छन् । 

प्राधिकरणको सिइओ नियुक्तिका लागि गठित छनोट समितिले मंसिर १४ गते सार्वजनिक सुचना प्रकाशित गरेको थियो । समिति आफैले निकै ढिला गरेर प्रक्रिया अघि बढाएको छनोट प्रक्रिया मन्त्री लेखककै कारण अनावश्यक रुपमा थप ढिलाइ भएको छ ।

सिइओको लागि ३ जनाको नामावाली सिफारिस भएको १ महिना वित्न लागे पनि मन्त्री लेखकले सो प्रस्ताव मन्त्रिपरिषद नै नलगेको स्रोतले बतायो । गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा गठित सिफारिस समितिले माघ अन्तिम साता नै बैतडीका दिनेश प्रसाद भट्ट, विराटनगरका सुमन कुमार कर्ण र रोल्पाका मन्दिप सुवेदीको नाम सिफारिस गरेको थियो । यद्यपि, नाम सिफारिस भएका भट्ट र सुवेदी प्राधिकरणको सिइओ बन्न आधारभूत योग्यता नै नपुग्ने तथ्य सहितको समाचार वडापालिकाले यसअघि नै प्रकाशित गरिसकेको थियो ।

मन्त्री लेखक अहिले सुवेदी र भट्टलाई देखाएर कांग्रेसको संस्थापन र शेखर कोइराला पक्षसँग एकैपटक बार्गेनिङमा लागेको स्रोतले बतायो । संस्थापन पक्षले आफूलाई पार्टीमा उचित पद दिने भए भट्टलाई नियुक्ति गर्ने भनेर अड्को थापेका लेखक इतर पक्षसँग पनि सुवेदीलाई देखाएर त्यस्तै बार्गेनिङमा लागेका स्रोतको भनाइ छ ।

‘आगामी महाधिवेशनमा शेखर दाइको समुहबाट मलाई महामन्त्री बनाउने ग्यारेन्टी लिएर आउन सक्नुहुन्छ भनेर मन्दिपजीलाई गृहमन्त्रीजीले सोध्नुभएछ । शेखर दाइलाई नै त थाहा भएन तर हामीसँग लौन त्यो माहोल बनाइदिनु पर्यो भनेर मन्दिपजीले भनिरहनु भएको छ,’ शेखर कोइराला निकट एक कांग्रेस नेताले वडापालिकासँग भने ।

विपद प्राधिकरणको सिइओको लागि नाम सिफारिस भएका सुवेदी १४औं महाधिवेशनमा प्रतिनिधि थिए । उनी कोइराला निकट मानिन्छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि विवादमा सुेवदीको नाम अन्तिम समय समावेश भएको थियो । उनी कांग्रेस सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सेडान) को तर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । सो समय सेडानको अध्यक्ष नेपाल आयाल निगमका पूर्वकार्यकारी निर्देशक समेत रहेका उमेशप्रसाद थानी थिए । 

मन्त्री लेखक संस्थापन पक्षसँग भने अन्तिम ३ जनामा नाम सिफारिस भएका भट्टलाई देखाएर कांग्रेसको पद मागिरहेका छन् । भट्ट बैतडीका स्थायी बासिन्दा हुन् । उनी कांग्रेस भातृ संस्था तरुण दलको महासचिवमा उम्मेदवार बनेर पराजित भइसकेका नेता हुन् । मन्त्री लेखकले आगामी महाधिवेशनमा अहिलेको संस्थापन पक्षको तर्फबाट आफूलाई महामन्त्री पद दिए भट्टलाई नै प्राधिकरणको सिइओ बनाउने बताइरहेका स्रोतको भनाइ छ । 

मन्त्री लेखक २०५५ सालतिर नेपाली कांग्रेसमा लागेका कन्चनपुर कांग्रेसका नेताहरु बताउँछन् । सो समयसम्म महेन्द्रनगरमा कानुन व्यवसाय गरेर बसिरहेका लेखकलाई ‘डडेल्धुराको डोमिनेस अस्वीकार गर्न’ कांग्रेस राजनीतिमा ल्याइएको उनीहरुको भनाइ छ ।

‘त्यो बेला कन्चनपुरमा डडेल्धुरे कांग्रेसको नियन्त्रण थियो । तारिणीदत्त चटौत, अनन्तराम भट्ट, वासुदेव भट्ट र एनपी साउद चारै जना डडेल्धुरे कांग्रेस थिए । यसको विरोधस्वरुप लेखकलाई कानुन व्यवसायबाट कांग्रेस राजनीतिमा ल्याइएको हो,’ कन्चनपुरका एक कांग्रेस नेताले भने । लेखक सुरुदेखि नै कांग्रेस संस्थापन पक्षमा थिए । तर, सभापति शेरबहादुर देउवा आगामी महाधिवशेनमा उम्मेदवार नहुने र उनले कसैलाई पनि संस्थापन पक्षको सभापति उम्मेदवारमा वचन नदिएका कारण आफूलाई सुरक्षित राख्न लेखकले एकैपटक दुबै खेमामा महामन्त्री बन्न विपद प्राधिकरणको सिइओ पदमा नियुक्तिको विषयलाई दुरुपयोग गरिरहेका स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार

एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’

विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update