
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षा चैत ७ गतेदेखि सञ्चालन गर्दैछ । फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेको छ ।
विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा राखेर केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई सोही विद्यालयबाटै परीक्षा दिने गरी आवश्यक व्यवस्था मिलाइएको छ । परीक्षामा सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी सहभागी हुनेछन ।
जसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु पनि समावेश हुँदैछन् ।
कारागारभित्रका जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी परीक्षा कार्यक्रम अगाडि वढाइएको हो । समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारी गरिरहेको छ ।
अटिजम भएका विद्यार्थीको परीक्षा फाराम भरिरहेका छन् । यस्ता विद्यार्थीहरुलाई सहयोगी लेखक विद्यार्थी दिन सक्ने कानुनी व्यवस्था छैन । यसरी शिक्षा ऐन र नियमावलीले नचिनेका फरक सिकाइ भएका विद्यार्थीहरुको परीक्षा सम्बन्धित विद्यालयबाटै दिलाउने व्यवस्थाका लागि समितिको आउँदो बैठकमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।