Odapalika - The Fourth Estate - चौथो अंग
कोहलपुर नगरपालिकाका अति विपन्नका लागि नमूना बस्ती 

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकाका अति विपन्न समुदायका लागि ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । 

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।  नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि  वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरु पक्की घरमा बस्न पाउने छन् । 

नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउए । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ । 

समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताए ।

उनले ८ वटा घरका लागि ४० लाख रुपैयाँ लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिए ।

सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताए । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरु पक्की घर पाउने भएपछि खुसी छन् । पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update