
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाभित्र बसोबास गरिरहेका १२३ भूमिहीन घरपरिवारले जग्गाको लालपूर्जा पाएका छन् ।
भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । चितवनमा रत्ननगर नगरपालिकाबाट भूमिहीनका लागि लालपुजाृ वितरण सुरु भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपालिकाका १२३ घरपरिवारलाई पुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । स
अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए । तीन वर्षभित्र १० लाख ९७ हजार ६७० जनाको समस्या समाधान गर्नेगरी काम अघि बढाइएको बउनको दाबी छ ।
कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डरअनुसार काम गर्ने बताउँदै जिल्लामा रहेका १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरभित्रका दुई हजार ६४३ परिवार भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक रहेको बताए । पचपन्न वर्षदेखि बसोबास गर्दै आएका १२३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा आफू निकै खुसी भएको उनको भनाइ छ ।