Odapalika - The Fourth Estate - चौथो अंग
आज राष्ट्रिय चलचित्र दिवस, यस्ता छन् इतिहास बनाउने ७ चलचित्र  

काठमाडौँ । आज राष्ट्रिय चलचित्र दिवस । देशभर चलचित्रकर्मीहरूले विभिन्न कार्यक्रमहरू गर्दै यस दिवस मनाउने गर्दछन् । 

हरेक वर्ष १ असोजलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइँदै आएको छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष आको दिनलाई विभिन्न कार्यक्रम गर्दै यस दिवसका रुपमा मनाउन गरेको छ । 

सुरुवाती दिवसहरूमा चलचित्र सप्ताह मनाइँदै आइएको थियो । पछिल्लो समय भने १ असोजमा मात्र विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउन थालिएको हो । चलचित्र विकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापित संस्था हो । यसको मूल उद्देश्य चलचित्रको प्रवद्र्धन अनि चलचित्रकर्मीहरूको संस्थागत विकास गर्नु हो ।

पहिलो नेपाली चलचित्र ‘आमा’

नेपाली चलचित्र ‘आमा’लाई नेपालमा निर्माण भएको पहिलो चलचित्र मानिन्छ । हिरासिंह खत्रीले निर्देशन गरेको चलचित्रमा शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिरासिंह खत्री र हरिप्रसाद रिमालले अभिनय गरेका थिए । 

पहिलो रंगीन चलचित्र ‘कुमारी’

चलचित्र ‘कुमारी’ नेपालमा निर्माण भएको पहिलो रंगीन चलचित्र हो । प्रेमबहादुर बस्नेतको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विश्व बस्नेत, चैत्यदेवी सिंहलगायतको अभिनय थियो ।

रजतजयन्ती मनाउने पहिलो चलचित्र ‘कुसुमे रुमाल’

सन् १९८५ मा निर्माण भएको यो चलचित्रले चलचित्र घरमा रजतजयन्ती मनाएको थियो । रजत जयन्ती भन्नाले चलचित्र प्रदर्शनको सय दिनलाई मानिन्छ । तुलसी घिमिरेको निर्देशन, उद्धव पौड्याल प्रस्तुतकर्ता र सुमित्रा पौडेल निर्माता रहेको यो चलचित्रमार्फत गायक उदितनारायण झाले अभिनयमा ‘डेब्यू’ गरेका थिए । नेपाली चलचित्रको इतिहासमा यो चलचित्रलाई पहिलो ‘ब्लकब्लस्टर’ चलचित्र मानिन्छ । चलचित्रमा भुवन केसी, तृप्ती नाडकरको पनि अभिनय थियो ।

पहिलो व्यावसायिक चलचित्र ‘युगदेखि युगसम्म’

सन् १९८८ मा निर्माण गरिएको यो चलचित्र नेपालको पहिलो व्यावसायिक चलचित्र हो । छविराज ओझाले निर्माण र अभिनेता राजेश हमालले अभिनय रहेको यस चलचित्रमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले द्वन्द्वमा ‘डेब्यू’ गरेका हुन् । 

दीपक रायमाझीले यस चलचित्रलाई निर्देशन गरेका थिए । चलचित्रमा कृष्टी मैनाली, सुशिला रायमाझी, टीका पहाडी, गोपालराज मैनालीलगायतले अभिनय गरेका थिए । 

पहिलो सिनेमास्कोप चलचित्र ‘राँको’

किशोर रानाको निर्देशन रहेको यो चलचित्रलाई नेपालको पहिलो सिनेमास्कोप चलचित्र मानिन्छ । २०५० सालमा प्रदर्शनमा आएको चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, विजय लामा, गौरी मल्ल, कृष्टि मैनाली, मिथिला शर्मा, सुनिल थापालगायतका कलाकारको अभिनय थियो ।

माइलस्टोन चलचित्र ‘दर्पण छायाँ’

सन् २००१ मा निर्माण भएको चलचित्र ‘दर्पण छायाँ’लाई पनि ‘माइलस्टोन’ चलचित्रका रुपमा लिइन्छ । त्रिकोणात्मक प्रेमकथाको यो चलचित्रमा तुलसी घिमिरेको निर्देशन र श्रवण घिमिरेको निर्माण छ । 

दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्रले तुलसीले नै निर्देशन गरेको ‘कुसुमे रुमाल’को बक्स अफिस कलेक्सनको रेकर्ड तोडेको थियो । त्यो बेला झन्डै ७ करोड बढी ग्रस कलेक्सन गरेको यो चलचित्रले उक्त समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राखेको थियो ।

पहिलो डिजिटल चलचित्र ‘कागबेनी’

सन् २००८ मा निर्माण भएको यो चलचित्रलाई नेपालको पहिलो डिजिटल चलचित्र मानिन्छ । सञ्चारकर्मी भुषण दाहालको डेब्यू निर्देशन रहेको चलचित्रमा निमा रुम्बा, सौगात मल्ल, दिया मास्केलगायतका कलाकारको अभिनय छ । 

मुस्ताङको सेरोफेरोमा छायाङ्कन गरिएको यो चलचित्र पछि मात्र नेपालमा डिजिटल फम्र्याटमा चलचित्र निर्माणको क्रम सुरु भएको हो । अमेरिकन कम्पनी सिलिकन इमेजिङबाट उच्च गुणस्तरीय डिजिटल क्यामरा ल्याई यो चलचित्र निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update