Odapalika - The Fourth Estate - चौथो अंग
आविष्कार केन्द्रको मेसिनबाट प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै चन्दननाथ नगरपालिका 

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ । नगरभित्र संकलन भएका फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरभित्र संकलित प्लाष्टिक र सिसाजन्य फोहर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी काम सुरु गरिएको जानकारी दिए । नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । 

प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र घरपरिवार गरी १६० स्थानबाट फोहर सङ्कलन गरिएको थियो । जसमा ७९ प्रतिशत फोहर घरपरिवारबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिकस्थलबाट र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट फोहर निस्कने गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिए ।

नगरपालिकाको सहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत एक केजी फोहर उत्पादन हुने गरेको छ । दैनिक ६ देखि ८ टन फोहर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहर प्लाष्टिकजन्य छ । 

नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्लाष्टिक र सिसाजन्य वस्तु पुनःप्रयोग गर्नका लागि ८ लाख ९८ हजार ३५० रुपैयाँमा उपकरण खरिद गरेको छ । यसका लागि गत पुसको पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिमपश्चात दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएको नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले बताए ।

नगरमा बढ्दै गएको फोहरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनुपरेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लाष्टिक टुक्रयाउने मेसिन जिल्लामा ल्याउन सफल भएको नगरप्रमुख कठायतको भनाइ छ ।

फोहर व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको फागुनसमान्तसम्ममा २ लाख ५१ हजार ६०० राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update