Odapalika - The Fourth Estate - चौथो अंग
पेन्सन लिन बैँकमा उपस्थित हुनैपर्ने व्यवस्था खारेज, अब डिजिटल उपस्थिति पनि स्वीकार्य

काठमाडौँ । सरकारले पेन्सनलाई निरन्तरता दिन ६ महिनामा एकपटक सशरीर बैँकमा उपस्थित हुनैपर्ने नियम परिवर्तन गरेको छ । 

सरकारका सचिवहरुको बैठकले ६ महिनामा एकपटक सशरीर उपस्थित हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरेको हो । 

हाल निवृत्तिभरण लिने कर्मचारीले बर्षमा २ पटक बैँकमा सशरीर उपस्थित भएर हस्ताक्षर गर्नैपर्ने व्यवस्था छ । यो व्यवस्थाका कारण समस्या भएको गुनासो आएको भन्दै सचिवस्तरीय बैठकले अब यस्तो हस्ताक्षर उपयुक्त डिजिटल माध्यमबाट गर्ने व्यवस्था मिलाएको हो । 

‘निवृत्तिभरणको सुविधा लिइरहेका पूर्व राष्ट्रसेवकहरुले आफूले पाइरहेको निवृत्तिभरणलाई निरन्तरता दिन ६ महिनामा एक पटक सशरीर सम्बन्धित बैँकमा उपस्थित हुनुपर्ने विद्यमान व्यवस्था  कठिनाइ भइरहको सन्दर्भमा त्यस्ता राष्ट्रसेवकले आफ्नो उपस्थिति उपयुक्त विद्युतीय माध्यमबाट गर्न सक्ने गरी निवृत्तिभरणको व्यवस्थापन अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयको समन्वयमा एक महिना भित्र मिलाउने,’ सचिवस्तरीय बैठकको निर्णयमा भनिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update