
अघिल्लो साता धर्म, शास्त्र, ज्योतिष र कर्मकाण्डबारेका एकजना जानकारसँग अलि गहिरो साक्षात्कार भयो । कुराकानीकै क्रममा सोधेको थिएँ– ज्योतिषशास्त्रअनुसार राजा फर्कन्छन् कि फर्कदैनन् भनेर भविष्यवाणी गर्न सकिन्छ ?
उनले सकिन्छ भने ।
शंका गर्दै पुनः सोधेको थिएँ– यो तपाईंको विश्लेषण/चाहना हो वा ग्रह गणित ?
उनले जवाफमा भनेका थिए– हामी ज्योतिषले ग्रहको अवस्थिति र त्यसले पार्ने प्रभावको विश्लेषण नगरी लहडका भरमा केही भन्नै मिल्दैन ।
यो विषयमा उनीसँग त्यतिमात्रै छलफल भयो । फर्कदा बाटोमा सोच्दै आएँ– २०८२ सालमा राजा फर्कने भविष्यवाणी गरेका ‘भाइरल भिडियो क्लिप’ पनि पूरै गलत त कहाँ रहेछन् र !
ग्रहको अवस्थितिबाट मान्छेको जीवनमा पार्ने प्रभावका बारेमा विश्लेषण गर्ने शास्त्र ज्योतिषलाई वेदको आँखा पनि भनिन्छ । ज्योतिषशास्त्रको भविष्यवाणी अहिलेको आधुनिक विज्ञानले पनि स्वीकार गरिसकेको छ । ज्योतिषशास्त्रले पत्ता लगाएका धेरै विषयहरु आधुनिक विज्ञानले अझै पत्ता लगाउन सकेको छैन, अध्ययन गरिरहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार राजा फर्कन्छन् भने त फर्किने नै होलान् !
नेपालको अहिलेको संविधानले राजाको परिकल्पना नै गरेको छैन । तर पनि राजा फर्कने र फर्काउने विषयले अहिले राजनीतिक बजार तातेको छ । अर्काे रोचक कुरा– यति सम्मानित र आदरार्थी पद ‘राजा’ हुन चाहने व्यक्ति अहिलेसम्म एक जनामात्रै छन्– ज्ञानेन्द्र शाह । भलै, राजा बनाउन चाहने व्यक्तिहरु कसकसले कसकसलाई राजा बनाउन चाहेका छन् भन्ने खुलेकै छैन ।
नेपालमा राजा फर्कन्छन् भनेर भविष्यवाणी गर्दा कसको कुण्डली (चिना) हेरेर गरियो भन्ने महत्वपूर्ण प्रश्नको जवाफ कुनै ज्योतिषले दिएका छैनन् । आखिर कस्को चिना हेरेर राजा फर्कने भविष्यवाणी गरियो ? नेपालको, ज्ञानेन्द्र शाहको, राष्ट्रपति रामचन्द्र पौडेलको, प्रधानमन्त्री केपी शर्मा ओलीको, वा अरु कोही व्यक्तिको ?
नेपालको कुण्डली हेरेर राजा फर्कने भविष्यवाणी गरिएको हो भने नेपालको जन्म समय कहिलेलाई मानियो ? सूर्यबाट पृथ्वी छुट्टिएको समय, मञ्जुश्रीले चोभारको डाडो काटेको समय, गोपाल बंशका पहिलो राजा भुमिगुप्त (भुक्तमान) राजा भएको समय, शाह बंशका पहिलो राजा कुलमण्डन खाँ राजा भएको समय, पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गर्दाको समय, पृथ्वीनारायणले काठमाडौँ उपत्यका पूरै विजय गरिसकेको समय, राजा ज्ञानेन्द्रको घोषणाबाट प्रतिनिधिसभा पुनस्थापना भएको समय, राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति गर्दाको समय, गणतन्त्र घोषणा गरेको समय, ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोडेको समय वा नेपालको संविधान २०७२ घोषणा भएको समय ? किनभने चिना बनाउन जन्म समय (वर्ष, महिना, गते, घण्टा र मिनेट) नभइ हुँदैन । अनि चिना बन्छ, त्यसपछि भविष्यवाणी गर्न सकिन्छ ।
ज्ञानेन्द्र शाहको चिना हेरेर राजा फर्कने भविष्यवाणी गरिएको हो भने २०८२ सालमा ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र बहादुर कार्की र ज्ञानेन्द्र शाहीको राशि कुण्डली एउटै हो । त्यतिमात्रै होइन, ज्ञानप्रसाद, ज्ञानविक्रम, ज्ञानबहादुर, ज्ञानशरण, ज्ञानसिंह, ज्ञानविज्ञान, ज्ञानकाजी, ज्ञानशमशेर, गेहेन्द्र आदिको राशि कुण्डली पनि ज्ञानेन्द्र शाहको जस्तै हो । किनभने ज्ञानेन्द्र शाह धनिष्टा नक्षत्रको चौथो पाउँबाट नामाक्षर सुरु हुने भएकोले उनको राशि कुम्भ भयो ।
ज्ञानेन्द्र शाहको चिना हेरेका ज्योतिषहरुका अनुसार उनको भाग्यस्थानमा कुम्भको शनि छ । शनि बलबान भएकोले उनी फेरि राजा बन्न सक्ने अनुमान बजारभरी छ्यापछ्याप्ती भएका हुन् । राशि कुण्डली अनुसार २०८२ सालमा धनिष्टा नक्षत्रको चौथो पाउँबाट नाम सुरु हुने व्यक्ति राजा हुने योग छ भने ज्ञानेन्द्र शाह एकमात्र उम्मेदवार होइनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको चिनाबाट २०८२ सालमा राजा फर्कने भविष्यवाणी गरिएको हो भने यसमा पनि समस्या देखिन्छ । किनभने रामचन्द्र पौडेलको दशा असाध्यै विग्रिएर राष्ट्रपति पद नै गुम्न सक्ने अवस्था छ भने पनि अर्काे व्यक्ति राष्ट्रपति बन्छ । रामचन्द्र पौडेलको विकल्प ज्ञानेन्द्र शाह हुँदै होइनन् । त्यसैले रामचन्द्र पौडेलको चिनाबाट भविष्यवाणी गरिएको हो भने पनि ‘२०८२ सालमा राजा फर्कने ग्यारेन्टी’ नगर्दा जाती हुन्छ ।
रामचन्द्र पौडेलकै जस्तो अवस्था केपी ओलीको पनि हो । अर्थात अहिलेको संविधानले गरेको व्यवस्था कुनै पनि पदमा कोही पनि स्थायी छैन । पहिलाको जस्तो राजा ‘स्वर्गारोहण गरिबक्सिएपछि’ मात्रै अर्काे व्यक्ति राजा हुने होइन । अहिलेको संविधानले सबै पदमा आवधिक नियुक्तिको परिकल्पना गरेको छ । निश्चित समयपछि राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै पदाधिकारी पदमुक्त हुन्छन् । राष्ट्रपति पदमा पहिला रामवरण यादव र विद्यादेवी भण्डारी थिए । अहिले रामचन्द्र पौडेल राष्ट्रपति छन् । पौडेलपछि अर्काे कोही व्यक्ति राष्ट्रपति बन्छ । त्यसैले राष्ट्रपति रामचन्द्र पौडेलको दशा विग्रिएको छ भने पनि राजा फर्कने सम्भावना छैन ।
ज्योतिषशास्त्रको सामान्य अध्ययन गर्दा पनि जानिने कुरा के हो भने एउटा देशमा एउटै वर्ष, एउटै महिना र एकै दिनको त्यही घण्टा, मिनेट र सेकेन्डमा पनि राजयोग परेका व्यक्तिहरु एकभन्दा बढी हुन्छन् । तर, त्यस्तो ग्रह अवस्था भए पनि राजा बन्ने त एक व्यक्ति मात्रै हो । यस्तो किन हुन्छ भने राजयोग परेको भनेको उसले गरिरहेको कर्ममा श्रेष्ठता हासिल गर्ने समय हो ।
कोही जुत्ता पालिस गर्छ भने राजयोग परेको बेलामा उसले जुत्ता पालिसमा श्रेष्ठता हासिल गर्ने समय प्राप्त गर्ने भन्ने हो । माछा मार्ने व्यक्ति छ भने जालमा धेरै माछा पर्ने र दुःख कम हुने समय हो, टोलको राजनीति गर्ने मान्छे छ भने उसले त्यो समयमा टोल विकासमा कुनै महत्वपूर्ण जिम्मेवारी पाउने वा वडाध्यक्ष हुने समय हो । सांसदहरुले मन्त्री वा प्रधानमन्त्री पद पाउने समय हो । सबै जना राजा बन्ने समय भन्ने हुँदै होइन ।
ज्ञानेन्द्र शाह अहिले राजा बन्ने लाइनमा छैनन् । अहिले उनको राजयोग परेको छ भने पनि उनले लाइन नबसी मन्दिरमा दर्शन गर्न पाउने हुन् । डिस्कोथेक जाँदा उनलाई डिस्टर्भ नहुने हो । आफन्त, इष्टमित्र र साथीभाइहरुले सम्मान गर्ने हो । व्यापार व्यवसायमा प्रतिस्पर्धी कमजोर भएर उनको कमाईं राम्रो हुने हो । किनभने उनी अहिले व्यापारमा जमेका छन्, भ्रमण, पर्यटनमा रमाएका छन्, मठमन्दिर दर्शनमा व्यस्त छन् ।
राजा बन्ने लाइनमा छन् भन्ने मान्ने हो भने पनि उनको भाग्य कट्यो । किनभने फागुन २५ गते उनलाई काठमाडौँ फर्कदा जुन स्वागत जुलुस गरियो, त्यो स्वागत जुलुसको सिन ‘माग्ने राजा’ नामक फिल्ममा समावेश गरिने गरी रेकर्ड गरियो भनियो । ज्योतिषशास्त्रले भाग्य वा दोष निर्माण हुने र कट्ने व्याख्या गर्छ ।
फरक प्रसंगको थप एउटा कुरा–
ज्ञानेन्द्र शाहलाई उनको किशोरबयसँग सम्बन्धित विषयमा टिप्पणी गरेर लान्छित गर्ने, पूर्वप्रधानमन्त्रीहरुले समेत दरबार हत्याकाण्ड र मुर्तिका विषयमा आरोपित गर्ने जस्ता कार्य टिप्पणी गर्न पनि नसुहाउने कार्य हुन् ।
ज्ञानेन्द्र शाहले गल्ती गरेका थिए भने अहिले सार्वजनिक खपतका लागि ठूला कुरा गर्नेहरु आफू प्रधानमन्त्री भएको बेलामा के हेरेर बसेका थिए ? उनलाई त्यही बेला कानुन अनुसार कारवाही किन नगरेको ? ज्ञानेन्द्र शाह कानुनी रुपमा कारवाही गर्नुपर्ने व्यक्ति थिए भने उनलाई कारवाही नगरेर पदीय मर्यादा नराखेको, जिम्मेवारी वहनमा गम्भीर विचलन देखिएको वा संविधान पालना नगरेको अभियोग पूर्वप्रधानमन्त्रीहरुमाथि लाग्छ, लाग्नुपर्छ ।
आजको दिनमा ज्ञानेन्द्र शाह एक सम्मानित नागरिक हुन् । अहिलेको संविधानले यो संविधान ठीक छैन, यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाउने ठाउँ पनि दिएको छ । त्यसमा पनि ज्ञानेन्द्र शाहले यो संविधानप्रति सार्वजनिक र औपचारिक रुपमा प्रश्न उठाएका छैनन् । त्यसैले राजनीतिक दलहरुका जिम्मेवार नेताहरु, मन्त्री, पूर्वमन्त्रीहरु तथा पूर्वप्रधानमन्त्रीहरुले ज्ञानेन्द्र शाहप्रति सम्मान देखाउनु पर्छ । ज्ञानेन्द्र शाह एक सम्मानित नागरिक हुन् । सम्मानित नागरिक भएर बाँच्न पाउनु पर्छ ।
र, अन्त्यमा– २०८२ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाका रुपमा फर्किन्छन् भन्न मिल्छ, पत्याउन मिल्दैन ।