Odapalika - The Fourth Estate - चौथो अंग
मालिकार्जुन र दुहुँ गाउँपालिकाका दलित बस्तीमा भाइरल ज्वरो, उपचारमा खटिए स्वास्थ्यकर्मी 

काठमाडौँ । गाउँमा भाइरल ज्वरोका बिरामी बढेसँगै दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । यहाँको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा थालेका हुन् । 

मालिकार्जुन गाउँपालिका–५ मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गरेका छन् । दलितको बाहुल्य रहेको मल्तडी बस्तीमा पस्ती आधारभूत अस्पतालका डा निराजन बोहरा नेतृत्वको टोलीले उपचार गरेको हो । उनीहरूले बिरामीलाई परामर्श सेवा, स्वास्थ्य जाँच गरेका छन् । 

मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिए ।

तीन–चार दिनदेखि गाउँमा भाइरल फैलिएको खबर आएसँगै बस्तीमै उपचार गर्न टोली पठाएको उनको भनाइ छ । उनका अनुसार हलसम्म १२२ जनाको स्वास्थ्य जाँच गरिएको छ । बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्नेलगायत लक्षण देखिएको छ । 

बिरामीलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ । वडामा डाँडाकोट स्वास्थ्यचौकी भए पनि पालिका तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो ।  

दुहुँ गाउँपालिका–२ ले गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ । हिकिला स्वास्थ्यचौकीले चैत ७ देखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर जाँच, परामर्श सेवा तथा उपचार र औषधि वितरण गर्ने स्वास्थ्यचौकी प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिंह धामीले जानकारी दिए ।

अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा समेत बढेको छ  । 

जिल्ला अस्पताल दार्चुलामा दैनिक दुई दर्जनभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । यसबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update