Odapalika - The Fourth Estate - चौथो अंग
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा

काठमाडौँ । सिरहाको औरही गाउँपालिका अहिले चर्चामा छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका कारण सो पालिका चर्चाको केन्द्रमा रहेको हो ।

पालिकामा कुनै राम्रो काम भएर अहिले चर्चा पाएको होइन । पालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलिप यादवले ‘विष्णु महायज्ञ लगाउन’ दलितको घरै भत्काइदिएपछि सो पालिका चर्चामा रहेको हो ।

पालिका अध्यक्ष यादवको समेत संलग्नतामा औरही–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको हो । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारले बताएको छ ।

महायज्ञ चैत १७ गतेदेखि सुरु हुने भनिएको छ । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

महायज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि घर भत्काइएको बताइएको छ । आफ्नो जमिन पनि नभएका कारण दुई वर्षअघि मधेश प्रदेश सरकारले दीपक परिवारलाई २ कोठो पक्की घर बनाएर दिएको थियो ।

प्रदेश सरकारले बनाइदिएको घर स्थानीय सरकार प्रमुखसमेतको संलग्नतामा भत्काइदिएपछि डोम परिवार अहिले सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घर बनाएर सरेको छ ।

यद्यपि, घर भत्काइएको डोम परिवारका सदस्यहरु गाउँपालिका नै कार्यरत रहेको तथ्य खुलेको छ । दीपक मरिक गाउँपालिका कार्यालयमा स्वीपरको काम गर्छन् भने उनकी श्रीमती अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । गाउँपालिका अध्यक्ष यादवले सहमतिमै घर भत्काइएको बताएका छन् । 

महायज्ञको दान अध्यक्ष यादवको खातामा रकम

औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रक भने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष दिलिप यादवको बैंकखातामा जम्मा गरिएको छ ।

shivajee-yadav-1742453161.jpg
यादवद्वयले औरहीमा रहेको एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० को बचत खाता खोलेर महायज्ञमा दानबाट उठेको रकम जम्मा गर्ने गरिएको छ ।

विवादित विगत

पालिका अध्यक्ष यादव विवादित पृष्ठभूमिका व्यक्ति हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका यादव सो समय ६ मतले पराजित भएका थिए । तर, उनी सोभन्दा अघिदेखि नै स्थानीयस्तरमा हुने ठेक्कापट्टा लगायतमा सहभागी हुँदै आएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । त्यसपछि यादव जनता समाजवादी पार्टीमा संलग्न भए । उनले समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षको टिकट पाए, विजयी भए । 

जमिन्दार पृष्ठभूमिका यादवमाथि आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीको नाममा भारत पठाउने, गाउँमा सापट भनेर मिटर ब्याजमा ऋण दिने र कपाली तमसुक बनाएर गरिबमाथि शोषण गरेको जस्ता धेरै अभियोग लाग्ने गरेको छ । अध्यक्ष यादव विरुद्ध २०७७ सालमा मिटरव्याजी भनेर किटानी जाहेरी परेपछि उनी फरार भएका थिए ।

शिवजीले भारतको पन्जाबमा ठेक्कामा लिएर सेलर चलाएको र त्यहाँ कामका लागि भनेर औरहीका स्थानीयलाई पन्जाब पुर्याएर श्रम शोषण गरेको भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध आन्दोलन

गत असाउन तेस्रो साता गाउँपालिकाका कर्मचारीहरू आन्दोलित भए । कर्मचारीहरुको माग थियो– तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सर्वजित झा सरुवा गर्नुपर्ने । यही माग राखेर कर्मचारीहरुले गाउँपालिका अध्यक्ष यादवलाई ज्ञापन–पत्र बुझाउँदै अधिकृत झाको सरुवा गर्न माग गरेका थिए ।

खासमा सो आन्दोलन अध्यक्ष यादवकै पहलमा उठेको थियो । गत आर्थिक वर्षको ठेक्कापट्टा भुक्तानीबाट प्राप्त कमिसनमा अध्यक्ष यादवको चित्त नबुझेपछि उनले कर्मचारी उक्साएर आन्दोलन गराएका थिए ।

अख्तियारको छापा

गाउँपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । अध्यक्ष यादवले कर्मचारीसँग सेटिङ गरेर व्यापक भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको छ ।

अख्तियारले छानविनका क्रममा मागेको कागजात गाउँपालिकाले नदिएपछि अख्तियारको टोली नै गाउँपालिका पुगेको थियो । अहिले सो विषयमा पनि अनुसन्धान भइरहेको अख्तिायारको भनाइ छ ।

आफ्नै पार्टीको छानविनमा अध्यक्ष यादव

अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेर विजयी भएका हुन् । तर, अध्यक्ष यादवले भ्रष्टाचार, अनियमितता र मनपरि गरेको भन्दै जसपा नेपालले गाउँपालिका स्तरमा ७ सदस्यीय छनबिन समिति गठन गरेको छ । निर्वाचित भएदेखि एकलौटी र मनपरि गरेको, पालिकामा भ्रष्टाचार मौलाएको, खुलमखुल्ला कमिसनको लेनदेन भइरहेको, कर्मचारीसँग विभेद गर्ने गरेको लगायतका विषयमा छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update