Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षक विद्यालय बन्दको तयारीमा, स्थानीय सरकार कारवाहीको तयारीमा ! 

सुनसरी । दुहवी नगरपालिकाले माग पुरा गराउने नाममा विद्यालय बन्द नगर्न चेतावनी दिदै विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएको छ । 

विद्यालय शिक्षा विधेयकका विाष्यमा असन्तुष्टि जनाउदै देशभरका शिक्षकले ३ असोजवाट विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय सरकारले बन्द नगर्न भनेको हो । 

कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएको हो ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुँदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको साथै आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यालयका बालबालिकाको शिक्षण सिकाइ नियमित र प्रभावकारी रुपमा गरी सिकाइ उपलब्धिमा सुधार गर्नु एकमात्र ध्येय शिक्षकहरूको रहनुपर्नेमा बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हड्ताल गर्नु कदापि स्वीकार्य नहुने नगरपालिकाले जनाएको छ । 

‘तसर्थ नियमित रुपमा कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सदा झैँ नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न गराउन दुहवी नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय‚ विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीहरूमा यो निर्देशन जारी गरिएको छ, यस निर्देशनको अवज्ञा गरी कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update