
काठमाडौँ । सिरहाको औरही गाउँपालिका–५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष शिवजी यादव सम्पर्कबिहीन भएका छन् ।
दलितको घर भत्काएको अभियोग लागेका अध्यक्ष यादवसहित आयोजक भनिएका बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव सम्पर्कबाहिर रहेको प्रहरीको भनाइ छ ।
घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालय पुग्दा उनीहरु नभेटिएको बताइएको छ ।
तिनैजनाको मोवाइल अफ छ भने पालिका कार्यालयदेखि घरसम्म खोज्दा कतै पनि नभेटिएको प्रहरीको भनाइ छ ।
तीनैजना फरार रहेको भन्दै प्रहरीले प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई सम्पर्क गराइदिन आग्रह गरेर फर्किएको छ ।
गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए ।
महायज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि घर भत्काइएको बताइएको हो । आफ्नो जमिन पनि नभएका कारण दुई वर्षअघि मधेश प्रदेश सरकारले दीपक परिवारलाई २ कोठो पक्की घर बनाएर दिएको थियो ।
प्रदेश सरकारले बनाइदिएको घर स्थानीय सरकार प्रमुखसमेतको संलग्नतामा भत्काइदिएपछि डोम परिवार अहिले सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घर बनाएर सरेको छ ।
यद्यपि, घर भत्काइएको डोम परिवारका सदस्यहरु गाउँपालिका नै कार्यरत रहेको तथ्य खुलेको छ । दीपक मरिक गाउँपालिका कार्यालयमा स्वीपरको काम गर्छन् भने उनकी श्रीमती अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । गाउँपालिका अध्यक्ष यादवले सहमतिमै घर भत्काइएको बताएका छन् ।
औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम भने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष दिलिप यादवको बैंकखातामा जम्मा गरिएको छ ।
यादवद्वयले औरहीमा रहेको एनएमबी बैंकमा खाता नं। ११२०१४६२७३९०००२० को बचत खाता खोलेर महायज्ञमा दानबाट उठेको रकम जम्मा गर्ने गरिएको छ ।
पालिका अध्यक्ष यादव विवादित पृष्ठभूमिका व्यक्ति हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बनेका यादव सो समय ६ मतले पराजित भएका थिए । तर, उनी सोभन्दा अघिदेखि नै स्थानीयस्तरमा हुने ठेक्कापट्टा लगायतमा सहभागी हुँदै आएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । त्यसपछि यादव जनता समाजवादी पार्टीमा संलग्न भए । उनले समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षको टिकट पाए, विजयी भए ।
जमिन्दार पृष्ठभूमिका यादवमाथि आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीको नाममा भारत पठाउने, गाउँमा सापट भनेर मिटर ब्याजमा ऋण दिने र कपाली तमसुक बनाएर गरिबमाथि शोषण गरेको जस्ता धेरै अभियोग लाग्ने गरेको छ । अध्यक्ष यादव विरुद्ध २०७७ सालमा मिटरव्याजी भनेर किटानी जाहेरी परेपछि उनी फरार भएका थिए ।
शिवजीले भारतको पन्जाबमा ठेक्कामा लिएर सेलर चलाएको र त्यहाँ कामका लागि भनेर औरहीका स्थानीयलाई पन्जाब पुर्याएर श्रम शोषण गरेको भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेको छ ।
सम्वन्धित समाचार
महायज्ञ लगाउन पालिका अध्यक्षले नै दलितको घर भत्काएको विषय प्रधानमन्त्रीलाई किन सोधिएन ?
दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा