
काठमाडौँ । विगत केही वर्षयता कक्षा १२ को पढाइ सक्ने वित्तिकै अध्ययनका लागि विदेश जाने क्रम नरोकिएपछि नेपालमा अतिआवश्यक क्षेत्रमा पनि योग्य जनशक्तिको हाहाकार हुन थालेको छ ।
पछिल्लो समय देशभर शिक्षकको अभाव चरम अवस्थामा पुगेको हो । स्थानीय सरकारलाई जिम्मेवारी दिइएको विद्यालय तहको शिक्षणका लागि पालिकाहरुले १२ पटकसम्म विज्ञापन गर्दा पनि शिक्षक पाइन छोडेको छ ।
यस्तै, समस्या ओखलढुंगाको खानीभन्ज्याङ्ग गाउँपालिकाको सरस्वती माविले भोगिरहेको छ । सो विद्यालयले विज्ञान विषयको शिक्षक सरुवा गरेर ल्याउन खोज्दा पनि कोही पाएन भने अस्थायी करारमा कोटामा भर्ना गर्नको लागि १२ पटकसम्म विज्ञापन प्रकाशन गर्दा पनि शिक्षक पाएको छैन ।
सो विद्यालयमा विज्ञान विषयको शिक्षक नभएपछि गाउँपालिकाले गत असार १८ गते सरुवा गरेर शिक्षक ल्याउने प्रक्रिया थालेको थियो । तर, सरुवाको लागि शिक्षक आव्हान गर्दा कसैले पनि सरुवा भएर आउन चाहेनन् ।
यस्तो समस्या भएपछि विद्यालयले गत साउन २ गते पहिलो पटक सार्वजनिक सुचना प्रकाशन गरेर शिक्षकको आवेदन माग गरेको थियो । तर, यसरी माग गर्दा शिक्षक नपाएपछि सो विद्यालय विज्ञापन प्रकाशन गरेको गर्यै छ । विद्यालयले चैत ७ गते १२औं पटक शिक्षक आवश्यकता विज्ञापन प्रकाशन गरेको हो ।