Odapalika - The Fourth Estate - चौथो अंग
कसले बाध्यो परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु ?

काठमाडौँ । अहिले सामाजिक संजालमा डडेल्धुराको परशुराम नगरपालिकाको वडा कार्यालयमा गाईवस्तु बाँधेको फोटो भाइरल भएको छ । 

फोटोमा वडा नं. ७ को कार्यालय साँदनीको च्यानल गेटमा सेतो रंगका दुईटा गाईवस्तु एउटा उठेको र एउटा बसेको देखिन्छ । ती गाईवस्तु एउटा कार्यालयको गेटभित्र र एउटा बाहिर देखिन्छ । फोटोमा हेर्दा ती दुबै गाईवस्तु कार्यालय परिसरभित्र रहेका देखिन्छन् । 

सामाजिक संजालमा फोटो भाइरल भएपछि हामीले सो वडाका वडाध्यक्ष कर्णबहादुर धामीलाई टेलिफोन गरी तपाईंको वडा कार्यालयमा गाईवस्तु पनि बाध्ने गरिएको छ भनेर सोधेका छौं । उनले सो फोटो आफ्नो वडा कार्यालयको भएको र उक्त फोटोमा देखिए जस्तै गाईवस्तु बाँधिएको पुष्टी गरे ।

‘फोटोमा देखिएको दृश्य सही हो । वडा कार्यालयमा नै गाईवस्तु बाँधिएको हो । तर, यो फोटो केही वर्ष अगाडिको हो । म वडाध्यक्ष निर्वाचित भएर आएपछि २०८१ जेठ अन्तिम साता खिचिएको दृश्य हो त्यो,’ वडाध्यक्ष धामीले वडापालिकासँग भने ।

यद्यपि, सो कार्य आफ्ना विरोधीहरुले गरेको वडाध्यक्ष धामीले बताए । वडा कार्यालयमा २०८१ जेठ २७ गते ३ वटा गाईवस्तु ल्याएर बाँधिएको थियो ।

‘छाडा चौपाय नियन्त्रणको सन्दर्भ उठेको थियो । मेरा विरोधीहरुले गाईवस्तु डोर्याएर ल्याएछन् । अनि वडा कार्यालयमा बाँधेर सुटुक्क फोटो खिचेछन् । त्यही फोटो भाइरल गरेछन् । तर, हाम्रो वडामा छाडा चौपाय नियन्त्रणको सन्दर्भ नै थिएन । यो सबै विरोधीहरुले चुनाव हारेको रिसमा गरेको हर्कत थियो,’ वडाध्यक्ष धामीले भने ।

वडा कार्यालयमा गाईवस्तु बाँधेर फोटो भिडियो खिचि सार्वजनिक गरेपछि वडा कार्यालयले सो कार्य गर्नेहरुलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको धामीले बताए । तर, सो कार्य गर्नेहरुले माफी माग्दै आफूले गल्ती गरेको र आइन्दा यस्तो नगर्ने प्रतिवद्धता जनाएपछि प्रशासन समेतको उपस्थितिमा एक पटकको लागि माफी दिइएको वडाध्यक्ष धामीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update