
काठमाडौँ । स्याङ्जाको विरुवा गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
गाउँपालिकाले पनि बजेट लगानी गरेर आफ्नो पालिकाभित्रका अनौपचारिक क्षेत्रका श्रमिक र किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको अध्यक्ष सूर्यवहादुर कुवरले जानकारी दिए ।
‘गत वर्ष नै हामीले सामाजिक सुरक्षा कोषसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थियौं । यसपाली कार्यविधि पनि बनाएका छौं र केही बजेट पनि विनियोजन गरेका छौं । आगामी बैशाखदेखि अनौपचारिक क्षेत्रका श्रमिक र किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै छौं,’ अध्यक्ष कुवरले वडापालिकासँग भने ।
गाउँपालिकाले पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका र घरमुली एकल महिला भएका, आफ्नै घर नभएका वा कमजोर घर भएका, आय आर्जन गर्नेको संख्या कम भएका जस्ता सुचकका आधारमा राज्यले प्राथमिकता दिनुपर्नै व्यक्ति र परिवारलाई समेट्ने अध्यक्ष कुवरले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेटबाट ६० देखि १०० जना अनौपचारिक क्षेत्रका श्रमिक तथा किसानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर कोषबाट प्राप्त हुने सुविधा पाउन योग्य बनाउने योजना गाउँपालिकाको छ ।
गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा किसानको मासिक न्यूनतम आम्दानी १० हजार ८२० रुपैयाँलाई आधार मानेर सोको ९.३७ प्रतिशतका दरले हुन आउने रकम अनुदान उपलब्ध गराउने छ । बाँकी ११ प्रतिशत रकम सम्बन्धित श्रमिक तथा किसानले दिनुपर्ने हुन्छ । अनौपचारिक क्षेत्रका श्रमिकले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि उनीहरुको मासिक न्यूनतम आम्दानीको २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । यो हिसाव अनुसार सम्वन्धित व्यक्तिले मासिक ११ सय रुपैयाँ कोषमा बुझाउनु पर्ने हुन्छ भने गाउँपालिकाले करिब १ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।
बैशाखदेखि अनौपचारिक क्षेत्रका श्रमिक तथा किासनलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएपछि गाउँपालिकाले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरु, पालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, निजी तथा आवाशीय विद्यालयहरुका प्रिन्सिपलहरु तथा अन्य सरोकारवालाहरु सहभागी थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारी र स्याङ्जाकै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले विशेष प्रस्तुतीकरण गरेका थिए । फेदीखोला गाउँपालिकाका अध्यक्ष सुवेदीले नेपालमै पहिलो पटक अनौचारिक क्षेत्रका श्रमिक र किसानका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका छन् ।