Odapalika - The Fourth Estate - चौथो अंग
औरही प्रकरणमा अध्ययन गर्न गाउँपालिका महासंघले बनायो समिति, संगठित प्रतिवाद गर्ने संकेत

काठमाडौँ । सिरहाको औरही गाउँपालिकामा विष्णु महायज्ञ गर्नको लागि दलितको घर भत्काइएको भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गाउँपालिका राष्ट्रिय महासंघले एक समिति बनाएको छ । 

चैत १० गते सिरहाको जिल्ला समन्वय समितिमा भएको छलफलपछि ५ सदस्यीय समिति गठन गरिएको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिए । सो छलफलमा मधेश प्रदेशका ४० गाउँपालिका सहभागी भएका उनको भनाइ छ ।

‘हामी ४० गाउँपालिकाहरु सहभागी भएका थियौं । सो घटनाको सत्यतथ्य बुझ्नको लागि ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले एक दुई दिनभित्रमा नै प्रतिवेदन दिन्छ,’ अध्यक्ष यादवले वडापालिकासँग भने ।

केही दिनअघि सिरहाकै औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्न दलित दिपक मरिकको घर भत्काइएको विषय सार्वजनिक भएको थियो । सो घर भत्काउने कार्यमा गाउँपालिकका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादव संलग्न रहेको आरोप लागेको छ ।

महायज्ञ चैत १७ गतेदेखि सुरु हुने भनिएको छ । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

महायज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि घर भत्काइएको बताइएको छ । आफ्नो जमिन पनि नभएका कारण दुई वर्षअघि मधेश प्रदेश सरकारले दीपक परिवारलाई २ कोठो पक्की घर बनाएर दिएको थियो ।

प्रदेश सरकारले बनाइदिएको घर स्थानीय सरकार प्रमुखसमेतको संलग्नतामा भत्काइदिएपछि डोम परिवार अहिले सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घर बनाएर सरेको छ ।

यद्यपि, घर भत्काइएको डोम परिवारका सदस्यहरु गाउँपालिका नै कार्यरत रहेको तथ्य खुलेको छ । दीपक मरिक गाउँपालिका कार्यालयमा स्वीपरको काम गर्छन् भने उनकी श्रीमती अनिता स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । गाउँपालिका अध्यक्ष यादवले सहमतिमै घर भत्काइएको बताएका छन् । 

संगठित प्रतिवादको संकेत

सो घटनाको सम्बन्धमा मधेश प्रदेशका गाउँपालिकाहरुले संगठित रुपमा प्रतिवाद गर्ने संकेत गरेका छन् । सिरहा प्रहरीले सो प्रकरणमा औरही गाउँपालिकाका अध्यक्ष यादवसहितलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाएपछि मधेश प्रदेशका गाउँपालिकाका अध्यक्षहरु छलफलमा जुटेका छन् ।

प्रहरीले अध्यक्ष यादवलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाले हिजो नै अनुमति दिएको छ । दलितको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै गाउँपालिका अध्यक्ष नै पक्राउ परेपछि गाउँपालिकाका अध्यक्षहरुको सक्रियता बढेको हो ।

aurahi-prakaran1-1742794775.jpg
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य विद्यानन्द चौधरीले ‘घटनाको गहिरो अध्ययन र सरोकारवालासँगको छलफलपछि मात्र आवश्यक निर्णय लिने’ भन्दै मिडियामा आएका समाचार र वास्तविकताबीच स्पष्ट अन्तर देखिएको’ बताएका छन् ।

हिजो जिल्ला समन्वय समितिमा निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र र अनुसन्धानका जिल्लास्थित प्रमुखहरु सहितको छलफल भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

‘चर्चामा रहेको दलितको घर भत्काइएको घटनाको वास्तविकता बुझ्न हामी मधेशका विभिन्न स्थानीय सरकारका प्रमुखहरू जिल्ला समन्वय समिति सिरहामा भेला भएका छौं । यस विषयमा जिल्ला प्रशासन कायौलयमा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी एसपी र अनुसन्धान विभागका एसपी सहित विस्तृत छलफल गरेका छौं । घटनाको गहिरो अध्ययन र सरोकारवालासँगको संवादपछि मात्र आवश्यक निर्णय लिनेछौं । मिडियामा आएका समाचार र वास्तविकताबीच स्पष्ट अन्तर देखिएको छ।  तथ्यअनुसार मात्रै निष्कर्ष निकाल्नु आवश्यक छ,’ गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरीले भने ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले महासंघको तर्फबाट आएका गाउँपालिका अध्यक्षहरुसँग जिल्ला प्रशासन कार्यालयमा नै छलफल भएको बताए ।

‘गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट गाउँपालिका अध्यक्षज्यूहरु आउनु भएको थियो । उहाँहरुसँग जिल्ला प्रशासन कार्यालय सिरहाको हलमा छलफल भएको हो । पक्राउ परेका व्यक्ति उपरको कानुनी कारवाही प्रक्रियाको बारेमा हामीले उहाँहरुलाई जानकारी गराएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले वडापालिकासँग भने ।

जिल्ला प्रशासन कार्यालय सिरहामा छलफल भएपछि अध्यक्षहरुको टोली जिल्ला समन्वय समिति गएका थिए । आफूहरुलाई छलफलको लागि हल चाहियो भनेपनि समितिले हल उपलब्ध गराएको तर त्यहाँ के विषयमा छलफल भयो, के निष्कर्ष निस्कियो भन्ने विषयमा आफूलाई केही जानकारी नभएको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले जानकारी दिए ।

‘गाउँपालिका राष्ट्रिय महासंघको छलफलका लागि हल चाहियो भने गाउँपालिकाका अध्यक्षज्यूहरु आउनु भएको छ भनेर कर्मचारीले फोन गर्नुभएको थियो । मैले हल पनि उपलब्ध गराउनु र चिया पनि खुवाइदिनु भनेर भनेको थिएँ । बाँकी केही विषय मलाई जानकारी छैन । म सो छलफलमा सहभागी भएको थिइनँ,’ जिल्ला समन्वय समिति सिरहाका प्रमुख महतोले वडापालिकासँग भने ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update