Odapalika - The Fourth Estate - चौथो अंग
मध्यावधी खर्च संरचना निर्माणमा जुट्यो भुम्लु गाउँपालिका

काठमाडौँ । काभ्रको भुम्लु गाउँपालिका मध्यावधी खर्च संरचना निर्माणमा जुटेको छ । 

प्रदेश सुशासन केन्द्रबाट तालिम पाए लगत्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले पालिकाका सबै शाखा प्रमुख र कर्मचारीहरु सहभागी गराएर बैठक राखी गाउँपालिकाको आगामी ३ वर्षको आर्थिक र पूर्वाधार निर्माण गर्ने मध्यावधी खर्च संरचना निर्माणको प्रक्रिया थालेका हुन् ।

‘चालु आर्थिक वर्षको आम्दानी र खर्चको आधारमा आगामी ३ वर्षको लागि हाम्रा योजना र कार्यक्रम के कस्ता हुने, स्रोत व्यवस्थापन कसरी हुने, के कस्ता नीति र कार्यक्रमहरु कसरी अघि बढ्ने भन्ने जस्ता विषय समेट्ने गरी मध्यावधी खर्च संरचना निर्माणमा जुटेका छौं । पहिलो चरणमा गाउँपालिकाका सबै शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुलाई यस बारेमा जानकारी गराइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत खत्रीले वडापालिकासँग भने ।

प्रमुख प्रशासकीय अधिकृत खत्रीले केही दिनअघि मात्रै प्रदेश सुशासन केन्द्रबाट मध्यावधी खर्च संरचना सम्बन्धी तालिम लिएका थिए । सो तालिममा प्राप्त भएको ज्ञान, प्रक्रिया र जानकारी उनले कर्मचारीहरुलाई सेयर गरेका थिए ।

अब गाउँ कार्यपालिकाले मध्यावधी खर्च संरचना सम्बन्धी कार्यदल गठन गर्नेछ । सो कार्यदलले समग्र विकास निर्माण, कार्य सम्पादन जस्ता विषय समेत समेट्ने गरी मध्यावधी खर्च संरचना तय गर्नेछ । अर्थात अबको ३ वर्ष गाउँपालिकाले के कस्ता आर्थिक, सामाजिक तथा सुशासन जस्ता क्षेत्रमा काम गर्नेछ भन्ने कुरा सोही संरचनाले तय गर्नेछ ।

सेवा नरोक्ने, आर्थिक भार नपार्ने

प्रमुख प्रशासकीय अधिकृत खत्रीले गाउँपालिकाको सेवा प्रवाहमा नकारात्मक असर नपर्ने र थप आर्थिक भार पनि नपर्ने गरी बैठक संचालन गर्ने गरेका छन् । कार्यालय समयमा बैठक गर्दा थप आर्थिक भार नपर्ने भएपनि सेवा प्रवाहमा समस्या उत्पन्न हुन सक्ने भएकोले कार्यालय समयपछि थप आर्थिक भार नपर्ने गरी बैठक राखिएको हो ।

गाउँपालिकाको बजेट आवश्यक विषयमा मात्रै खर्च होस र सार्वजनिक सेवा प्रवाहमा पनि सम्झौता गर्नु नपरोस भनेर कार्यालय समयपछि तर अतिरिक्त खर्च नलाग्ने गरी बैठक राख्ने गरिएको हो । चैत १० गते राखिएको मध्यावधी खर्च संरचना सम्बन्धी बैठक पनि यसैगरी मिलाइएको थियो ।

‘आज मिति २०८१ चैत्र १० गते आइतबारका दिन साझ ५ बजेदेखि ६ बजेसम्म स्टाफ बैठक बसी मध्याबधी खर्च संरचना तयारी, कार्यालयको दैनिक प्रशासनिक कार्य  सन्चालन लगायत विविध विषयमा  छलफल एवम जिम्मेवारी बाँडफाँड गरी सम्पन्न भएको छ । कार्यालय समयपछि बिनाकुनै अतिरिक्त सुविधामा राखिएकोको बैठकमा समेत सक्रिय सहभागिताका लागि सम्पपूर्ण शाखा प्रमुख एवम् कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ बैठकपछि प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट जारी गरिएको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update