
काठमाडौँ । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाले कोखदेखि शोकसम्म कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाको हालै सम्पन्न १६औं हिउदे नगरसभाले सो कार्यक्रम पारित गरेको हो । कोखदेखि शोकसम्म कार्यक्रम अनुसार सो नगरपालिकाभित्रका स्थायी वासिन्दाले जन्मदादेखि मृत्यूसम्ममा स्थानीय सरकारबाट आर्थिक सहयोग प्राप्त गर्नेछन् ।
नगरपालिकाले संचालन गर्न लागेको कोखदेखि शोकसम्म कार्यक्रममा विशेष गरेर ३ वटा कार्यक्रम समावेश छन् । यी कार्यक्रममा नगरपालिकाभित्रका स्थायी बासिन्दाको घरमा जन्म भएमा ५ हजार रुपैयाँ नगरपालिकाबाट भत्ता पाउने छन् ।
यस्तै, नगरपालिकाभित्रका स्थायी बासिन्दा कसैको मृत्यू भएमा सो व्यक्तिको परिवारले १० हजार रुपैयाँ आर्थिक सहयोग पाउने छन् । नगरपालिकाभित्र ८० वर्ष पुगेको जेष्ठ नागरिकलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिने कार्यक्रम पनि संचालन गर्न लागिएको मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।
‘प्रत्येक नगरबासीलाई मेरो घरमा नै सिंहदरबार आइरहेको छ भन्ने महसुस गराउन चाहेका छौं । कोखदेखि शोकसम्म कार्यक्रमले नगरबासीमा खुसीयाली छाएको छ, आशाको संचार भएको छ । हाम्रो सरकारले हाम्रो लागि केही गरिरहेको छ भन्ने महसुस भएको छ,’ मेयर महर्जनले वडापालिकासँग भने ।
नगरपालिकाले संचालन गर्न लागेका यी तीनवटै कार्यक्रम आगामी बैशाख महिनादेखि कार्यान्वयनमा जानेछन् । कार्यक्रम कार्यान्वयन छिटो होस भनेर प्रक्रिया सुरु गरिसकिएको मेयर महर्जनले बताए ।
‘कसैको घरमा जन्म वा मृत्यू भयो भने त्यसको जानकारी वडा कार्यालयहरुलाई हुन्छ । यस्तै, प्रत्यक वडालाई ८० वर्ष पुगेका जेष्ठ नागरिकको विवरण तत्काल उपलब्ध गराउनु भनेर आज नै सुचना प्रकाशन गर्दैछौं । २०८२ बैशाखदेखि नै भत्ता उपलब्ध गराउन थाल्ने भएकोले यो कार्य तत्काल गरिहाल्न आवश्यक छ,’ मेयर महर्जनले भने ।
उनले यी तीनवटै कार्यक्रमको लागि बजेटको अभाव नहुने जानकारी दिए ।