Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने

काठमाडौँ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सौर्य उर्जा र हाइब्रिड कृषि सिंचाईं आयोजना निर्माण हुने भएको छ ।

दातृ निकाय र गाउँपालिकाको संयुक्त लगानीमा सो आयोजना निर्माण हुन लागेको हो । ६ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा गाउँपालिकाले २० प्रतिशत लगानी गर्नेछ भने बाँकी ८० प्रतिशत लगानी दातृ निकायको हुने गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

‘छिन्नमस्ता गाउँपालिका–५ लोखरम अन्तर्गत फुलकाही चौरी र वरिपरिको ४०० देखि ६०० बिगाहा जग्गा अब कृषि, ऊर्जा, र समृद्धिको नयाँ युगतर्फ अग्रसर हुँदैछ । यस क्षेत्रमा नेपालकै अग्रणी, दिगो, र अत्याधुनिक सौर्य ऊर्जा आयोजना तथा हाइब्रिड मोडल कृषि सिंचाइ प्रणालीको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ,’ गाउँपालिका अध्यक्ष चौधरीले भने ।

सो आयोजनाले वर्षायाममा आधारित सो क्षेत्रको कृषि प्रणालीलाई व्यवसायिक बनाउन ऐतिहासिक कार्य गर्ने उनको भनाइ छ । सिंचाईंको अभावका कारण सिमित उत्पादनमा भर पर्नुपर्ने छिन्नमस्ताको लोखरमका किसानको अवस्था बदल्न सो आयोजना प्रभावकारी हुने अध्यक्ष चौधरीको भनाइ छ ।

‘यो आयोजना केवल सिंचाइ सुधारको परियोजना मात्र होइन, वर्षाको भरमा निर्भर निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषितर्फको ऐतिहासिक परिवर्तन हो । दशकौँदेखि सिंचाई अभावका कारण सीमित उत्पादनमा बाँधिएका लोखरमका किसानहरूको भाग्य बदल्ने, आर्थिक क्रान्ति ल्याउने र स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महत्वाकांक्षा यो आयोजनाले बोकेको छ,’ उनले भने ।

हाल अन्तिम चरणमा रहेको सो आयोजनाको अहिले पानी प्रतिरोधात्मकता परीक्षण पूरा गर्ने क्रममा छ । आयोजना सम्पन्न भएपछि सो क्षेत्र हरियाली हुने, उच्च उत्पादकत्व कायम हुने, रोजगारी सिर्जना र आधुनिक कृषिको गौरवशाली उदाहरण बन्ने अध्यक्ष चौधरीको भनाइ छ ।

आयोजना निर्माण भएपछि छिन्नमस्ताको ५,६ र ३ नं. वडाको जमिनमा सिंचाई सुविधा पुग्ने उनले बताए । आयोजना स्थलमा राखिएको सोलार पावरबाट दिउसोको समयमा सौर्य उर्जा प्रयोग गरी सिंचाईंको पानी उपलब्ध गराउने तथा रातको समयमा भने विद्युत ग्रिडबाट विद्युत प्रवाह गरी सिंचाई सुविधा उपलब्ध गराइने छ ।

‘यो प्रविधिबाट सिंचाई गर्दा पानी निकालिएको केन्द्रबाट २ किलोमिटर वरपर सबैतिर सिंचाई पुग्ने रहेछ । यो भनेको करिब ८०० विगाहा जमिन हो । यति जमिनमा नियमित रुपमा सिंचाई उपलब्ध हुने भएपछि यो क्षेत्रका किसानको आर्थिक अवस्थामा कायापलट हुन्छ,’ अध्यक्ष चौधरीले वडापालिकासँग भने ।

सो आयोजनाबाट प्रवाह हुने सिंचाई किसानलाई निःशुल्क उपलब्ध गराउने र आयोजनाको लागि आवश्यक प्राविधिक कर्मचारी पनि गाउँपालिकाले नै व्यवस्था गर्ने तयारी गरिएको छ । 

दातृ निकायले सो आयोजनामा लगानी गर्नको लागि आवश्यक अध्ययन करिब टुंग्याएको छ । दातृ निकायको तर्फबाट चार चरणमा अध्ययन भइसकेको र अध्ययन नतिजा सकारात्मक आएकोले आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । गाउँपालिकाले लगानी गर्ने कुल लागतको २० प्रतिशत लगानी गर्न प्रतिबद्धता सहितको पत्र पठाएपछि ठेक्का प्रकृया सुरु हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update