Odapalika - The Fourth Estate - चौथो अंग
त्रियुगा नगरपालिका सुरु भयो मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम 

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकाले ‘मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए । 

वडा नं ३ मोतिगडाको स्वास्थ्य चौकीमा आयोजित ज्येष्ठ  नागरिकहरुको स्वास्थ्य सेवा शिविरको उद्घाटन गर्दै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ति र अनुभवका खानीका रुपमा रहेका  ज्येष्ठ नागरिकहरु सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी के कस्तो समस्या छ र नगरपालिकाले उनीहरुको स्वास्थ्य उपचारमा सहजीकरण गर्न के कस्तो योजना ल्याउनुपर्छ भन्ने जानकारी लिन पनि यो कार्यक्रम प्रभावकारी हुने देखिएकाले मेयरसँग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम सुरु गरिएको नगरप्रमुख बस्नेत बताउँछन् । 

कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । नगरभित्रका सामाजिक सुरक्षा भत्ता लिने ९ हजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षयरोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धी चेक जाँच, मिर्गौला सम्बन्धी चेकजाँच लगायतका सेवाहरु निःशुल्क प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताए।
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update