
काठमाडौँ । दैनिक पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादकसँग मिलेर नक्कली टेण्डरको सूचना प्रकाशन गरी अनियमितता गरेको अभियोगमा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरुसहित जनकपुर टुडेका प्रकाशक सम्पादक बृजकुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यको ठेक्का लगाउने प्रयोजनका लागि गरिने विज्ञापनमा अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार सो आयोजनाको टेण्डर जनकपुर टुडेमा छापेर अभिलेख प्रयोजनका लागि एक प्रति मात्र पत्रिका प्रकाशन गरी सूचना लुकाएर सेटिङमा ठेक्का दिलाइएको उनीहरुमाथि अभियोग छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखा अधिकृत पुरीले बटेश्वर गाउँपालिकाबाट अर्थिक वर्ष २०७६–०७७ विभिन्न वडाहरूमा स्वास्थ्य केन्द्र निर्माण र डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको लागि ठेक्का बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा जनकपुर टुडे राष्ट्रिय दैनिकमा प्रकाशन गरेर एकप्रतिमात्र अभिलेखका लागि राखेको र अन्य प्रति वितरण नै नगरिउको अखितयारको दाबी छ ।
पत्रिकाका प्रधानसम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृज कुमार यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी बटेश्वर गाउँपालिकाको ठेक्काको कार्यालयमा अभिलेख राख्ने प्रयोजनार्थ जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा एक प्रतिमात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरेको अख्तियारको आरोप छ ।
जनकपुर टुडेको बिलबाट माग भएको रकम ६ लाख ४४ हजार एक सय रुपैयाँ जनकपुर टुडे मिडिया लाई भुक्तानी दिएको र सो रकम गैरकानुनी भन्दै सो रकम असुल गरी त्यति नै जरिमाना गराउन माग गरिएको छ । यस्तो विगो र जरिमाना तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र प्रधानसम्पादकबाट भराउन भनिएको छ ।