
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा गरेको भनिएका ज्ञानेन्द्र ढुंगानको गभर्नर बन्ने योग्यतामा प्रश्न उठेको छ ।
गभर्नर बन्नको लागि अर्थशास्त्र, व्यवस्थापन जस्ता राष्ट्र बैंक ऐनमा नै तोकिएका विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुनुपर्नेमा ढुंगानाको सो योग्यतामा प्रश्न उठेको हो ।
ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी पास गरेका छन् । नेपाल राष्ट्र बैंकको पूर्वकर्मचारी समेत रहेका ढुंगाना राष्ट्र बैंकमै कार्यरत रहेको समयमा स्नातकोत्तर गर्न भन्दै अस्ट्रेलिया गएका थिए । अस्ट्रेलियमा एक वर्ष अध्ययन गरेर फर्केका ढुंगाना केही समय राष्ट्र बैंकमा काम गरेपछि राजीनामा गरेर निस्किएका थिए ।
स्रोतका अनुसार ढुंगानाले अस्ट्रेलियमा सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सिपिए) अध्ययन गरेका गरेका थिए । सिपिए योग्यता सिपिए अस्ट्रेलियाले प्रदान गर्छ । यो योग्यता कुनै विश्वविद्यालयले प्रदान गर्ने डिग्री होइन, अस्ट्रेलियको पेशागत लेखा संस्थाले प्रदान गर्ने योग्यता हो ।
ढुंगानाले अस्ट्रेलियाबाट सिपिए गरेपनि उनको सो शैक्षिक योग्यता नेपालको त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता नदिएको बताइएको छ । नेपालबाट स्नातकोत्तर नगरेका ढुंगानासँग रहेको अस्ष्ट्रेलियन प्रमाणपत्र पनि स्नातकोत्तर सरहको नहुँदा गभर्नर बन्न उनको शैक्षिक योग्यता नै बाधक हुने बताइएको हो ।
कसले चलायो राजीनामाको हल्ला ?
ढुंगानाले गभर्नर बन्नको लागि नविल बैंकको सिइओ पदबाट राजीनामा गरेर सक्रिय रुपमा लागेको भन्ने बजार हल्ला चलेको छ । यद्यपि, सो हल्लाको पुष्टी हुने आधार यो समाचार तयार पार्दासम्म भने देखिदैन ।
किनभने नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीका सिइओ र संचालकले पदबाट राजीनामा दिएपछि सोको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिनै पर्छ । अहिलेसम्म ढुंगानाले पदबाट राजीनामा दिएको जानकारी नेप्सेले गराएको छैन । यसैकारण उनको राजीनामाको हल्ला मात्रै चलेको हुन सक्ने अनुमान गरिएको छ ।