काठमाडौँ । रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पक्राउ परेका सिरहाका नवराजपुर गाउँपालिकाका वडासदस्य नथुनी साह जेल चलान भएका छन् ।
सिरहा जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएलगत्तै उनी कारागार चलान भएका हुन् । बलात्कार पछि हत्या गरिउको भनिएको सो घटना मिलाउन पञ्चायत बस्ने मध्येका उनी एक थिए ।
प्रतिवादी बनाइएका रामकृपाल मण्डल, विन्देश्वर साह, कारी भनिने करिया मुसहर, रामदेव सदा र दुई नाबालकलाई भने जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ ।
रामविनोद मण्डल र कमलेश कुमार दासलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ । उनीहरुविरुद्ध जातिय छुवाछुत तथा भेदवभावको कसुर, आत्महत्या दुरुत्साहनको कसुर र जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराएको कसुरमा मुद्दा चलाइएको थियो ।
बलात्कारको आरोप लागेपछि पञ्चायत बसेर मिलापत्र गराउन खोजिएकाले मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २२७ को (क) अनुसारको कसुरमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । बलात्कार तथा अपहरणका आरोपी दुई जना र पञ्चायती मिलाउन सहभागी हुने ८ जना गरी १० जना अझै फरार छन् ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु गत ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको थियो ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् ।
‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरेको रिंकुले त्यसबेला बताएका उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको थियो । न्यायका लागि भन्दै २९ माघमा गाउँ–समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।
यो विषयमा मिलापत्र गर्न भन्दै रुपेश मण्डललाई १ लाख ५० हजार जरिमाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।