
काठमाडौँ । बझाङको खप्तडछान्न गाउँपालिकाका पूर्वअध्यक्ष, तात्कालीन प्रमुख प्रशासकीय अधिकृत, तात्कालीन एकजना वडाअध्यक्षसहित १४ लाख रुपैयाँ भन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा परेका छन् ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले २०७६ सालमा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको अभियोगमा गाउँपालिकाका तात्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार रावलसहितका जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
अख्तियारले भ्रष्टाचार भएको सो रकम अध्यक्ष पालिका हाकिम, लेखा प्रमुख, इन्जिनियर आयोजना क्षेत्रका वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षबाट असुल गर्न माग गरेको छ ।
अख्तियारले उनीहरुबाट जनही भ्रष्टाचार भएको रकम बरावरको जरिमाना र बिगो असुल गर्न माग गर्दै मुद्धा दायर गरेको हो ।