Odapalika - The Fourth Estate - चौथो अंग
विपद्सँग लड्न भक्तपुरका ४ वटै पालिका तयार 

भक्तपुर । बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र क्षति हुन नदिन भक्तपुर जिल्लाले विपद् व्यवस्थापनको तयारी गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले १० महिनाअघिबाटै  विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ बनाएर काम गरिरहेको छ । 

गत २२ असारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११औँ बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का पूर्वसूचना प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक खगेन्द्रप्रसाद रिजालले जिल्लामा बाढी, पहिरोजस्ता वर्षामा हुने विपतट क्षति हुन नदिन, क्षति न्यूनीकरण गर्न र विपद् आएमा तत्काल उद्धार गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । 

यसका लागि जिल्लाभित्रका सबै पालिकासँग समन्वयमा काम गर्ने उनको भनाई छ ।     

‘विपद् व्यवस्थापनका लागि जिल्लाका चारवटै नगरपालिकासँग छलफल गरेर विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरेका छौँ,’ उनले भने । 

भक्तपुरमा उद्धारका लागि आवश्यक सबै सामग्री नेपाली सेनाको सूर्यविनायक ब्यारेकमा राखिएको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण चारवटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन् । 

यहाँका मनोहरा तथा हनुमन्ते नदीमा बाढी आएमा तत्काल उद्धार गर्ने, भक्तपुर, मध्यपुरथिमि क्षेत्रमा हुनसक्ने डुबान र चाँगुनारायण तथा सूर्यविनायक नगरका पहाडी क्षेत्रमा हुनसक्ने पहिरोको जोखिमतर्फ सचेत रहँदै नगरपालिका एवं जिल्ला विपद् व्यवस्थापन समितिले सबै तयारी पूरा अवस्थामा राखेको प्रजिअ रिजालले बताए ।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update