
काठमाडौँ । कमला नदीको तटमा जोखिमपूर्ण जिविकोपार्जन गर्छन्, दुधौली नगरपालिका –११ टाडीगाउँका स्थानीय । गाउँमा भएका ७ विद्यालय मध्ये मैनीस्थित कमला माध्यमिक विद्यालयमा आज बेग्लै चहलपहल छ ।
विद्यालयका प्रधानअध्यापक पुरस्कार थाप्न यतिवेला काठमाडौंमा छन् । पुरस्कार योग्य बनाउने चै कक्षा १२ का विद्यार्थी हुन् ।
देशभरका सामुदायिक विद्यालय मध्ये माध्यमिक तहमा उत्कृष्ट ठहर गर्दै विद्यालयलाई शिक्षा मन्त्रालयले ३ लाख रुपैयाँ नगद र शिल्डबाट सम्मान गर्दै छ ।
शिक्षा दिवसको अवसरमा आज शिक्षामन्त्रीको हातबाट पुरस्कार पाउँदै गरेको यो विद्यालयमा अहिलेपनि जस्ताको छानामुनि बसेर पढ्छन् विद्यार्थी ।
५०० विद्यार्थी अध्ययनरत यो विद्यालयमा २०७९ सालको माध्यमिक परीक्षा कक्षा १२ मा अध्ययनरत झण्डै शत प्रतिशत विद्यार्थी पास भए ।
प्रधानअध्यापक राजेश्वर यादवका अनुसार ५९ जनाले परीक्षा दिएकामा ५७ जना विद्यार्थी पास भएका छन्, त्यो पनि राम्रो जिपिएका साथ ।
‘औषत विद्यार्थी भर्ना हुन्छन्, हामी मिहिनेतका साथ पढाउँछौँ, त्यसैको प्रतिफल थाप्न म आज काठमाडौंँमा छु,’ प्रधानअध्यापक यादवले वडापालिका सँग भने ।
विद्यालय रहेको वडा नम्बर ११ का वडाअध्यक्ष पवन कार्की शिक्षकहरुको मिहिनेतका कारण विद्यालय पुरस्कार पाउन योग्य भएको भन्दै स्थानीय तहको निरन्तरको अनुगमन र सहयोगका कारण विद्यालयले सफलता हात पारेको बताउँछन् ।
उनका अनुसार अहिले पनि भौतिक पूर्वाधारको अभाव छ । विश्व बैंकको सहयोगमा बन्दै गरेको २४ कोठे भवन अझै तयार भएको छैन । त्यही भएर जस्ताको छानोले बेरेर बनाइएका कक्षाकोठामा विद्यार्थी पढिरहेका छन् ।
जनजाति बाहुल्य भएको यो वडाका विद्यालयमा स्स्थनीय सरकारले गर्ने सहयोग भनेकै खेलकुदका सामग्री बितरण मात्र हो । अतिरिक्त कृयाकलापमा विद्यालयकै पहलमा कार्यक्रम हुरु हुन्छन् भने बिहान १० देखि ४ बजेसम्म २१ जना शिक्षकले विद्यालयमा नियमित पढाउँछन् ।
वडाध्यक्षका अनुसार शिक्षक र विद्यार्थीको मिहिनेत कै कारण विद्यालयलाई सफलता हात लागेको हो ।
पुरस्कार पाएपछि अब प्राविधिक धारका शिक्षा दिने योजना विद्यालयको छ । हाल व्यवस्थापन र शिक्षाशास्त्र संकायका विषयहरुमात्र पठन पाठन भइरहेका छन् । आगामी दिनमा थप अब्बल बन्न अब प्राविधिक धारका विषयको समेत पढन पाठन थाल्ने योजना बनिरहेको वडाध्यक्ष र प्रधानअध्यापक दुबैले बताए ।
आज राष्ट्रिय शिक्षा दिवस
‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइदै छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।
दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।