Odapalika - The Fourth Estate - चौथो अंग
वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित खुल्यो प्राविधिक स्कुल, यस्ता छन् विशेषता

काठमाडौँ । एक वर्षमा १० हजार जना दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा ‘काठमाडौं टेक्निकल स्कुल’ खुलेको छ ।

आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न स्कुल खोलेको जनाएका छन् । काठमाडौँको धुम्बाराहीमा खुलेको स्कुलको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्कुल शुभारम्भ गरेका छन् ।

स्कुलले हस्पिटालिटी, कलिनरी आट्र्स, केयर गिभिङ, बारिस्टा, बार टेन्डर लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने भएको छ ।

स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनल उत्पादन गर्ने लक्ष्य लिएको कार्यक्रममा जानकारी दिइयो । आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङ लगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजना सञ्चालन गरिसकेको छ ।

। आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए ।

उनले यस स्कुलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी तथा युवाशक्ति पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सिप विकास नै यसको समाधान रहेको बताए ।

Kathmandu-Technical-School-1742986861.jpg
स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा यो स्कुलबाट सहयोग पुग्ने बताए ।

हस्पिटालिटी र केयर गिभिङबाट सुरु गरेको कोर्सलाइ बिस्तारै प्रविधि, इलेक्ट्रोनिक भेहिकल लगायतका इनोभेटिभ क्षेत्रमा पनि जनशक्ति तयार पार्ने अध्यक्ष पौडेल बताउँछन् । 

‘पहिलो वर्षमा १० हजारको टार्गेट राखेका छौं, विस्तारै यो संख्यालाई बढाउँदै लान सकिन्छ,’ अध्यक्ष पौडेल भन्छन्, ‘यसका लागि हामी विदेशबाट काम गरे फर्केका युवाहरूलाई पनि सीप सिकाउन सक्छौं, काम गरिरहेकाहरूलाई पनि सीप सिकाउने हाम्रो योजना छ ।’

स्कुलले हाल हस्पिटालिटी, केयर गिभिङका तालीम सञ्चालन गरिरहेको छ । हस्पिटालिटीअन्तर्गत कुलिनरी आट्र्स, वारिष्ठा, बार ट्रेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गरिरहेको छ । यस्तै, केयर गिभिङअन्तर्गत जेष्ठ नागरिकहरूको हेरचाह र नर्सिङ होममा गरिने कामका लागि सीप सिकाइरहेको छ ।

औपचारिक रूपमा मंगलबारदेखि उद्घाटन भएपनि यो स्कूलले दुई वर्षको अवधिमा ४ सय दक्ष युवा उत्पादन गरी बजारमा पठाइसकेको छ । तीमध्ये कतिपय युवाहरू विदेशमा काम गरिरहेका छन् भने कतिपयले स्वदेशमै रोजगार पाइरहेका छन् । यहाँ तीन महिना, ६ महिनादेखि एक वर्षसम्मका कोर्सहरू उपलब्ध छन् । 

स्कुलले नेपालमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)का कोर्ष सञ्चालन गरिरहेको छ भने युकेको सीटी एण्ड गिल्ट्स र अस्ट्रेलियाको सीआईबीटीसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरी सीप सिकाइरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update